काठमाडौं, भदौ १५ : ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जित्नुभएको छ ।
महिला एकलतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका निताले ६ दशमलव ७० अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्नुभएको हो । सेनामा प्युठ दर्जामा कार्यरत निता गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेतासमेत हुनुहुन्छ । उहाँले १३ औँ सागकै स्वर्ण पदक विजेता सञ्जिला तिम्सिनालाई पराजित गर्नुभएको हो ।
दुवैबीच कडा प्रतिस्पर्धा भएको थियो । स्युचाटारको टोलीबाट खेल्नुभएकी सञ्जिलाले ६ दशमलव ५६ अङ्क प्राप्त गर्दै रजत पदकमा चित्त बुझाउनुभयो । सो स्पर्धामा मुलपानी क्लबका चन्दु शाहीले ६ दशमलव १६ अङ्क तथा दाङका सुनिता विष्टले ५ दशमलव ४३ अंकका साथ कास्य पदक प्राप्त गर्नुभएको प्रतियोगिताका निर्णायक अशोक खड्काले जानकारी दिनुभयो ।
यसैगरी पुरुषतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा सेनाको त्रिभुवन आर्मी क्लबका दिपेन्द्रले रजत पदकमै चित्त बुझाउनु प¥यो । सेनामा सिपाही दर्जामा कार्यरत उहाँ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूसित पराजित हुनुभयो । प्रमुबहादुरले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्नुभयो । दीपेन्द्रले उक्त स्पर्धामा ६ दशमलव ५० अङ्क प्राप्त गर्नुभयो ।
प्रहरीका प्रेमबहादुर र सेनाका दीपेन्द्र १३औँ सागका कास्य पदक प्राप्त खेलाडी हुन् । सो स्पर्धामा मुलपानी क्लबका पुष्पप्रसाद गौतमले ६ दशमलव २० अङ्क तथा दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य पदक प्राप्त गर्नुभयो ।
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।