काठमाडौं, भदौ १५ : इंग्ल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंलामा घरेलु टोलि इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । पहिलो टी ट्वान्टी वर्षाले अनिर्णित भएको थियो ।
पाकिस्तानले प्रस्तुत गरेको १९६ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन पाँच बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १९९ रन बनाएर पुरा गर्यो । इंग्ल्याण्डलाई जित दिलाउन देवीड मलानले अविजित रहँदै ५४ रनको योगदान दिनुभयो ।
कप्तान इयन मोर्गनले मात्र ३३ बलमा छ चौका र चार छक्काको सहयोगमा ६६ रन बनाउनुभयो । ६६ रनमा दुई विकेट गुमाएको इंग्ल्याण्डलाई मलानले मोर्गनसँग तेस्रो विकेटका लागि ११२ रनको उत्कृष्ट साझेदारी गरी सहज स्थितिसम्म पुर्याउनुभयो ।
पाकिस्तानका लागि शदाब खानले तीन तथा हरिश रौफले दुई विकेट लिनुभयो । यसअघि म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पाहुना टोलिले २० ओभर खेल्दै मात्र चार विकेटको क्षतिमा १९५ रनको विशाल योगफल तयार गर्यो । पाकिस्तानलाई उच्च योगफलसम्म पुर्याउन ओपनर्द्वय बाबर आजम र फखार जमामले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्नुभयो ।
आजमले ५६ रन बनाउँदा फखार ३६ रन बनाउनुभयो । मध्यक्रममा मोहम्मद हफिजले ६९ रनको उत्कृष्ट पारी खेल्नुहुँदै पाकिस्तानलाई उच्च योगफलसम्म डोरयाउनुभयो । इंग्ल्याण्डका लागि अदिल राशिदले सर्वाधिक दुई तथा क्रिश जोर्डन र टम कर्रनले सामान एक एक विकेट लिनुभयो । खेलको म्यान अफ द् म्याच इयन मोर्गन घोषित हुनुभयो ।