बन्दाबन्दीमा सकारात्मक अर्थतन्त्र

  भदौ १५, २०७७

विराटनगर, भदौ १५ : विराटनगर–३, कञ्चनबारीको महालक्ष्मी ट्रेडर्सले पछिल्लो पाँच महिनाको कारोबार गत वर्षकै हाराहारी ग-यो । ठूलाठूला सामाजिक तथा सांस्कृतिक जमघट र कार्यमा कमी, होटल बन्द, चाडपर्वमा आउजाउ नहुँदा पनि महालक्ष्मीको कारोबार गत वर्षकै हाराहारीमा भएको हो ।

सामान्य अवस्थामा भन्दा बन्दाबन्दीका पाँच महिनामा दैनिक उपभोग्य वस्तु खरिदका लागि सेवाग्राहीको भीड लोभलाग्दो छ । होटलले गर्ने माग र सामाजिक र सांस्कृतिक कार्यका लागि खरिद हुने सामान रोकिए पनि कारोबारमा असर छैन, महालक्ष्मीका हरिकृष्ण ढुङ्गानाले भन्नुभयो, “सीमा नाका बन्द भएर अवैध पैठारीको प्रभाव पाँच महिनामा सकारात्मक परेको छ ।”

घरायसी सामग्रीको माग ह्वात्तै बढेको महसुस विराटनगर–१० को कठैत किसाना पसल सञ्चालक रिना कठैतलाई पनि भएको छ । नेपालमै उत्पादन हुने भान्सा प्रयोजनका मसला, चिनी, तेल, साबुन, चियादेखि नेपाली उत्पादनका बिस्कुटको माग धानिनसक्नु भएको रिनाको दाबी छ ।

कोरोना सङ्क्रमणका कारण खुल्ला सीमा नाका बन्द हुँदा असङ्गगठित रूपमा भारतबाट हुने व्यापार पाँच महिनादेखि बन्द छ । चाडपर्व नजिकिँदै जाँदा विराटनगरको रानी र झापा काकडभिट्टापारिका बजार अघिल्लो वर्षसम्म गुलजार हुने भए पनि यो वर्ष सुनसान छन् ।

दैनिक उपभोग्य वस्तु खरिद गर्न भारतीय बजार पुग्न नेपालीलाई सीमापार पुग्ने कुनै सहज उपाय छैन । कानुनी बाटो भएर आउनेबाहेक आक्कलझुक्कल भित्र्याउने सामानसमेत गन्तव्यमा पुग्न नपाउँदै प्रहरीको नियन्त्रणमा पर्ने गरेपछि नेपाली बजारमा उपभोग्य वस्तुको माग निकै बढेको हो ।

नेपाली उपभोक्ता नेपाली बजारमै आश्रित रहेको कारण नै चौपट हुनुपर्ने अर्थतन्त्र थामिएको दाबी मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पवन सारडाको छ । उहाँका अनुसार दैनिक पाँच करोड रुपियाँ बराबरको उपभोग्य वस्तु खरिद गरेर फर्कने गरेका नेपाली उपभोक्ता अहिले नेपालकै बजारमा छन् ।

सीमा नाका बन्द भएसँगै असङ्गठित र अवैध कारोबारको नाममा भारत जाने ठूलो रकम नेपाली बजारमा घुमिरहेको उद्योगी–व्यवसायी बताउँछन् । दैनिक उपभोग्य वस्तु भारतबाट खरिद गरेर भित्र्याउने छुट नहुँदा नेपाली उत्पादनको खपतमा समेत वृद्धि हुँदै गएको हो ।

सीमापारिबाट क्यारियरवालाले ल्याउने भारतीय सामान आउन ठप्प छ । भारतीय समान नै आउन छाडेपछि नेपालकै उत्पादनले किराना पसल भरिभराउ भएका हुन् । उपभोक्ताले भारतीय उत्पादनसमेत नेपाली बजारमा खोज्ने गरेका छन् ।

नेपाली उद्योगले उत्पादन नै पठाउन सकिरहेका छैनन । बिस्कुट चाउचाउ, तेल, दाल, चामलको खपत सबैभन्दा राम्रो छ, कठैतले भन्नुभयो, सीमा क्षेत्रको भारतीय बजार जानका लागि पूर्ण रूपमा बन्देज हुनुपर्ने देखियो ।

विराटनगरमा रहेको भाटभटेनी सुपरस्टोरले पछिल्लो समय ९८ प्रतिशत तरकारी नेपालकै उत्पादन बिक्री गरिरहेको छ । आलु र प्याजबाहेकका तरकारी प्रदेश १ मा उत्पादित हुने गरेका हुन् । नाका बन्द भएका कारण नेपाली किसानको उत्पादनले बजार र मूल्य दुवै पाएको सुपरस्टोरका प्रबन्धक विनोद भट्टराईले दाबी गर्नुभयो ।

उपभोग्य वस्तुको खपतमा सकारात्मक प्रभाव त देखिएको छ, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले भन्नुभयो, “सानो बजार भएको देशमा नेपाली उत्पादनको खपतमा मात्रै उपभोक्ता बानी पार्नसके राज्यको अर्थतन्त्रमा धेरै सकारात्मक सङ्केत देखापर्ने छ । उहाँले कानुनी बाटो भएर भित्रने सामान खरिदमा मात्रै नेपाली उपभोक्ता बाध्य हुने अवस्था आए राजस्व असुलीमा राखिने लक्ष्यको चिन्ता गर्नै नपर्ने दाबी गर्नुभयो ।

भारतीय बजारबाट चिनी, दाल, तेल, बिस्कुट, चाउचाउ, चकलेट, भाँडाकुँडा र कपडा भित्रने गरेको थियो । सीमा बन्द भएका कारण ती सम्पूर्ण सामग्री नेपालमै उत्पादन भएको खरिद र बिक्री भइरहेको हो ।

प्रदेश १ बाट भारतीय बजारमा मासिक रूपमा पुग्ने एक अर्ब ५० करोडको रुपियाँ असङ्गठित रूपमा भित्रने गरेको उद्योगी–व्यवसायीको दाबी छ । अध्यक्ष मुन्दडाले भन्नुभयो, कोरोनाले चौपट बनायो भनेर गुनासोसँगै यो सुखद पक्ष भनेको चार महिनामा छ अर्ब रुपियाँ भारत जानबाट बचेको छ ।

व्यापार घाटामा समेत यसको सकारात्मक प्रभाव देखिने दाबी अर्का उद्योगी सारडाको छ । उहाँले मुलुकभरका १२ मुख्य नाकापारि भारतीय बजारको व्यापारले तानेको रकम रोकिएको प्रभाव राज्यको पहिलो चौमासिक समीक्षामा थाहा हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया