नयाँ अलैँचीको मूल्य सुरुमै खस्क्यो

  भदौ १५, २०७७

ताप्लेजुङ, भदौ १५ : ताप्लेजुङमा अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थाल्दादेखि नै मूल्य भने ओरालो लाग्न थालेको छ । पाँच दिनअघि मात्र स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य सुरुमै ओरालो लाग्न थालेको हो ।

जिल्लाकै प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीको नयाँ उत्पादनको मूल्य अपेक्षा गरेभन्दा धेरै कम भएपछि किसान तथा व्यवसायी दुवैलाई चिन्तित बनाएको छ । अलैँची उत्पादक किसानले विगतका वर्षमा झैँ नयाँ उत्पादनले राम्रो मूल्य पाउने अपेक्षा राखेकामा अपेक्षाभन्दा आधा बढीले कम अर्थात प्रतिमन (४० किलोग्राम) २१ हजार रुपियाँ मात्र मूल्य आएको छ ।

नयाँ अलैँची बजारमा निस्कन थाल्दा सुरुको दुई दिनसम्म प्रतिमन २२ हजार रुपियाँले कारोबार भएको स्थानीय व्यवसायीले बताएका छन् । त्यसपछि सुरुको मूल्यमा एक हजारले घटेर अहिले प्रतिमन २१ हजार रुपियाँले मात्र कारोबार भइरहेको फुङ्लिङ बजारका व्यवसायी भद्रवीर रेग्मीले बताउनुभयो ।

बजारमा निस्कन थाल्दादेखि नै मूल्य ओरालो लाग्नु राम्रो सङ्केत नभएको स्थानीय व्यवसायी रेग्मीको भनाइ छ । गत वर्ष नयाँ अलैँची बजारमा निस्कन थाल्दा सुरुमै प्रतिमन ३२ हजार रुपियाँसम्म कारोबार भएको थियो । अपेक्षा गरेअनुसार अलैँचीको मूल्य नआउँदा कारोबार नफस्टाउने भएकाले व्यवसायी चिन्तित बन्नुपर्ने अवस्था आएको रेग्मीले बताउनुभयो ।

यस्तै फुङ्लिङ बजारका अर्का व्यवसायी दिनेश अधिकारीले अलैँचीको मूल्य प्रतिमन २१–२२ हजार रुपियाँ सन्तोषजनक मूल्य नभएको बताउनुभयो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका अधिकारीले हालको मूल्यले किसानको श्रमसहित लगानी धान्नलाई धौधौ पर्ने र व्यवसायीको अलैँची व्यापार नाफा आर्जन गर्ने खालको नहुने बताउनुभयो । उहाँले यस वर्ष कोभिड–१९ ले गर्दा पनि अलैँचीको मूल्य धेरै राम्रो आउने सम्भावना नदेखिएको बताउनुभयो ।

कुनै बेला अलैँची प्रतिमन एक लाख २० हजार रुपियाँसम्म कारोबार भएको थियो । अचाक्ली मूल्य आएपछि धान, मकैलगायत खाद्यान्न बाली हुने जमिन मासेर अलैँची खेती गर्न थालेका ताप्लेजुङका किसानले अलैँचीको मूल्य बर्सेनि घटेर २० हजार रुपियाँ प्रतिमन सम्म आइपुगेपछि वैकल्पिक खेतीबारे सोच्न थालेका छन् । हालको मूल्यले लगानी नधान्ने भएपछि केही किसानले अलैँची बगान मासेर खाद्यान्न बाली नै सुरु गरेका छन् भने केहीले जमिनअनुसार फलपूmलका बिरुवा र अन्य रुख रोप्नेजस्ता वैकल्पिक योजनाको तर्खरमा रहेका पाइएको छ ।

तपाईको प्रतिक्रिया