हेटौँडा औद्योगिक क्षेत्रका पाँच हजार श्रमिक कामविहीन

  भदौ १४, २०७७

हेटौँडा, भदौ १४ : सरकारले घोषणा गरेको बन्दाबन्दीपछि हेटौँडा औद्योगिक क्षेत्रस्थित उद्योगमा काम गर्ने मजदुरहरुको दैनिकीले लय समाउन सकेको छैन । अझै समस्या अनिश्चित बन्दै जाँदा श्रमिकहरु सुरक्षित रोजगारीसँगै दैनिकी चलाउन समेत नसक्ने अवस्थामा पुगेका छन् ।

हेटौँड औद्योगिक क्षेत्रमा १३६ वटा उद्योगहरु दर्ता रहेकामा बन्दाबन्दी सुरु हुनु अघि १११ वटा उद्योगहरु सञ्चालनमा थिए । ती उद्योगहरुमा स्थायी, करार र ज्यालादारी समेत ५ हजार मजदुरहरु कार्यरत थिए । सरकारले बन्दाबन्दी घोषणा गरेपछि अधिकाँश श्रमिकहरु कोरोनाको डरका कारण घरमै बसे पनि यतिखेर काम बिहिन अबस्थामा पुगेका छन् । कामको सिजनमा दैनिक ज्यालादारीमा आधारित भई काम गर्ने भारतीय मजदुरहरु घर फर्किए पनि नेपाली कामदारहरुको अबस्था दयनीय बन्न पुगेको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष श्याम श्रेष्ठले बताउनुभयो ।

“यतिखेर न उद्योग चलेको छ, न त मजदुरले काम पाएका छन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो–“एकातिर भाइरस संक्रमणको डरले मजदुर त्रसित छन् भने भोकमरी समस्या पनि बढ्दै गएको छ ।” केही ठूला र बहुराष्ट्रिय कम्पनीहरुले उद्योग परिसरभित्रै आवास र खानासहितको सुविधा दिएर उत्पादन सुरु गरे पनि अन्य उद्योगहरु चल्न नसक्दा मजदुरहरु मारमा परेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार बन्दाबन्दीको समयमा जम्मा २५ वटा जति मात्रै उद्योग सञ्चालनमा आएका थिए ।

आर्थिक बर्षको अन्त्यतिर नयाँ जोशका साथ उद्योग चलाउन सरोकारवालाहरुले पहल गरे पनि उत्साहजनक नतिजा हात लाग्न नसकेको प्रमुख कँडेलले जानकारी दिनुभयो । “पहिलो चरणको लकडाउन सकिएको घोषणा भएपनि भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण उद्योगहरु चल्न सकेनन्”, कार्यालय प्रमुख कँडेलले भन्नुभयो ।

कोरोना संक्रमण हुने डरले मजदुरहरु सुरुमा उद्योगमा काम गर्न जान आनाकानी गरे पनि यतिखेर हातमुख जोर्ने बाध्यताका कारण काम गर्न इच्छुक रहेको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका उपाध्यक्ष रामशरण घिमिरेले बताउनुभयो । “सरकारले कि मजदुर र उसका परिवारका लागि कि त राहतको प्याकेज ल्याएर खाने व्यवस्था गर्नुपर्छ, होइन भने सुरक्षित ढंगले उद्योग खोलेर रोजगारीलाई निरन्तरता दिने वातावरण बनाउनुपर्छ ।”, मजदुर नेता घिमिरेले भन्नुभयो ।

अहिले निषेधाज्ञाका बीच पनि एसिएन पेन्टस्, मकवाना बिस्कुट, खाद्य उद्योग, हेटौँडा दुग्ध वितरण आयोजना, पानी उत्पादन, निर्माणजन्य बस्तुमा आधारित उद्योग, पशुपंक्षीका दाना उद्योगहरु सञ्चालनमा रहेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । तर, सञ्चालनमा आएका उद्योगहरुमा भारी परिमाणमा कामदार र मजदुरहरु कटौती गरिएको छ । कम उत्पादन गर्ने र भौतिक दुरी कायम राखेर उद्योग चलाउने नीति उद्योगीहरुले लिएका छन् ।

तपाईको प्रतिक्रिया