पोखरा, भदौ १४ : गण्डकी प्रदेशका विभिन्न ठाउँमा कालिज (वन कुखुरा)को व्यावसायिक पालन सुुरु गरिएको छ । जङ्गलमा पाइने कालिजको सिकार गर्न प्रतिबन्ध भए पनि विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिजको व्यावसायिक पालन गर्न थालिएको हो ।
कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले बढ्दो मागलाई हेरेर कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, नवलपरासी लगायतका जिल्लामा करोडौँ रुपियाँ लगानीमा व्यावसायिक फर्महरू सञ्चालनमा आएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, फोक्रास, कालिज, चिलिमे, चिर, मुजुर र लुइँचे जातिका कालिज पाल्न तथा सिकार गर्न निषेध गरे पनि विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिजपालनको लहर छाएको चराविज्ञ डा. हेमसागर बरालले बताउनुभयो ।
कालिज एकअर्काबीच भिड्ने भएकाले पर्याप्त खेल्ने ठाउँ तथा भागेर बाहिर जान सक्ने भएकाले फर्म क्षेत्रमा पूर्ण रूपमा तारजाली लगाउनुपर्ने विज्ञ डा. बरालले बताउनुभयो । फ्रान्सबाट ल्याइएका पाँच सय अण्डा ह्याचिङ गरेर पोखरा महानगरपालिका–२६ गुदेतालमा सञ्चालन गरिएको कुनो एकीकृत कृषि फर्ममा अहिले हाल हजार पाँच सय ‘रिङनेक’ जातका कालिज रहेको सञ्चालक प्रकाश कोइरालाले बताउनुभयो ।
फर्मनजिकै कुनो रेस्टुरेन्ट सञ्चालन गर्नुभएका कोइरालाले फर्म तथा रेस्टुरेन्टका लागि एक करोड ५० लाख रुपियाँ लगानी भइसकेको बताउनुुभएको छ । म्याग्दीमा कृषि क्षेत्रमा नयाँ मोडेलको विकास गरेको हरियाली कृषि फर्मले बेनी नगरपालिका– ४ सिँगामा करिब १० रोपनी जमिनमा व्यवस्थित खोर निर्माण गरेर कालिजको व्यावसायिक पालन थालिएको छ ।
ताजा तरकारी, माछा, बाख्रा र कुखुरा उत्पादन गर्दै आएको फर्मले कालिज नयाँ उत्पादन सुरु गरेको हो । करिब ५० लाख रुपियाँको लागतमा सम्पूर्ण संरचना निर्माण गरी कालिजको व्यावसायिक पालन सुरु गरिएको सञ्चालक शेरबहादुर केसीले बताउनुभयो । अहिले फर्ममा बिक्रीका लागि योग्य ८०० कालिज छन् ।
छ महिना अगाडि काठमाडौँको एभरेस्ट वाइल्ड लाइभ एग्रो एन्ड रिसर्चले उत्पादन गरेको कालिजको चल्ला ल्याएर पाल्न सुरु गरिएको उहाँले बताउनुभयो । फार्मले स्थानीय ३६ जना जग्गाधनी कृषकसहित ६० जनाको पाँच करोड र राष्ट्रिय वाणिज्य बैङ्कबाट सुलभ ब्याजदरमा छ करोड गरी ११ करोड रुपियाँ लगानी गरेको छ ।
पर्वतमा हार्डवेयर व्यवसाय सञ्चालन गर्ने कुस्मा नगरपालिका–८, पराधीका मनोजकुमार पौडेलले कालिजबाट राम्रो आम्दानी गर्न सकिने देखेर दुई करोड रुपियाँ बढी लगानी गर्नुभएको छ । १२ रोपनी जमिनमा खोर निर्माण गर्नुभएका पौडेलले बजारको अध्ययनपछि राम्रो सम्भावना हुने देखेरै कालिजपालन सुरु गरेको बताउनुभयो ।
मेरो फर्मलाई सरकारले कालिजपालन र बिक्री गर्ने अनुमति दिएको छ, गत वर्ष पोखरा, काठमाडौँ, बागलुङ, मुस्ताङ लगायतका जिल्लामा ५० लाख रुपियाँ जतिका कालिज बिक्री गरेको थिए, हाल आठ सय चल्ला हुर्किएपछि भाले चार हजार रुपियाँ र पोथी तीन हजार रुपियाँसम्ममा बिक्री गर्न सक्छौँ, पौडेलले भन्नुभयो ।
स्याङ्जामा आँधीखोला एग्रो जुरिजम फार्म स्थापना गरी कालिजपालन सुरु गर्नुभएका विक्रम खाँणले कोरोना भाइरसको महामारीका कारण होटल व्यवसाय बन्द भएपछि कालिजपालनमा लागेको बताउनुभयो । पहिलो चरणमा पोखराबाट ४० र काठमाडौँबाट ३० वटा अण्डा ल्याएर चल्ला उत्पादन गरिएकोमा अहिले १८० माउ र २४० चल्ला फर्ममा हुर्किरहेको उहाँले बताउनुभयो ।
पाँच रोपनी क्षेत्रफल जग्गामा कालिजपालनका लागि आवश्यक संरचना निर्माण गरेको फर्मले कालिजसँगै टर्की, लोकल कुखुरा, बट्टाई लगायतका पक्षीपालन गर्ने तयारी थालेको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ का दुई युवाले झाँते एकीकृत कृषि तथा पशुपक्षी केन्द्र स्थापना गरी व्यावसायिक कालिजपालन सुरु गरेका छन् ।
पहाडी भूभाग कालिजपालनका लागि उपयुक्त ठाउँ भएकाले पहिलोपटक कालिजपालन सुरु गरेको लगानीकर्ता दीपेशकुमार अर्याल र अर्जुन श्रेष्ठले बताउनुभयो । करिब २५ लाख रुपियाँको लागतमा दुई बिघा जग्गामा सञ्चालन गरिएको फर्ममा आगामी दुई महिनाभित्र बिक्रीयोग्य हुने गरी १५० वटा कालिजपालन गरिएको छ ।
वैदेशिक रोजगारीमा सात वर्ष बिताउनुभएका उहाँहरूले नेपालमा केही गर्ने योजनाअनुसार अनलाइनहरूमा खोजी गर्दा कालिजपालन गरेको पाएपछि एभरेस्ट वाइल्ड लाइफबाट चल्ला ल्याएर फर्म सञ्चालन गरेको बताउनुभयो ।