कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान

  भदौ १४, २०७७

काठमाडौँ, भदौ १४ : कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुई साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिनुभयो । त्यसक्रममा उहाँले औषधि अनुसन्धान गरिरहेको जानकारी पनि दिनुुभयो ।

पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डरको विषय हो तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये २१३ जना बिरामी निको भएर घर फर्किएका छन् ।

डा. श्रेष्ठले भन्नुभयो, ‘‘१९ महिनाको दूधेबालकका आमादेखि ७८ वर्षको ज्येष्ठ नागरिकसम्म यही औषधिले राम्रो गरेको छ ।’’ अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्नुहुन्छ, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्न सक्ने क्षमता भएको हो ।’

यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । ‘त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आयो, कोरोना देखिएन,’ अनुसन्धान अधिकृत डा. अमितलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया