सन्दीपको छैटौँ खेल आज राति

  भदौ १३, २०७७

काठमाडौँ, भदौ १३ : नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आफ्नो छैटौँ खेल आज राति हुँदैछ । सन्दीपको टोली जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससित राति १२ बजे खेल्नेछ ।

दुवै टोली अङ्क तालिकाको पुछारमा छन् । जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने सेन्ट किट्स अन्तिम स्थानमा छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । मैकाले पाँच खेलमा दुई जीत तथा तीन हारका साथ चार अङ्क जोडेको छ । सेन्ट किट्सले पाँच खेलमा एउटा जीत तथा चारमा हारका साथ मात्र दुई अङ्क जोडेको छ । दुवै टोलीसामु अन्तिम चारमा स्थान बनाउनैपर्ने दवाव छ ।

जमैकाको हालसम्मको खेल प्रदर्शन फितलो रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएको छ । उहाँले हालसम्म खेलेका पाँच खेलमा सात विकेट लिनुभएको छ । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा एक विकेट लिनुभएको थियो । उक्त खेलमा उहाँले चार ओभरमा २३ रन खर्चिनुभएको थियो । यस्तै दोस्रो खेलमा समेत सन्दीपले एक विकेट लिनुभएको थियो । उहाँले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा चार ओभरमा ३० रन दिनुभएको थियो । गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिनुभयो । उहाँले सो खेलमा चार ओभरमा आठ रन मात्र खर्चिनुभयो । उक्त खेलमा उहाँले हालसम्मकै उत्कृष्ट खेल देखाउनुभएको थियो ।

यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिनुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा उहाँले चार ओभरमा मात्र १२ रन खर्चिनुभयो । यस्तै पाँचाँै खेलमा दुई विकेट लिनुभएको थियो । बर्बाडोस ट्राइडेन्ससितको खेलमा उहाँले चार ओभरमा १६ रन दिनुभएको थियो । हालसम्मका खेलेका खेलमा सन्दीपले निकै किफायती बलिङ गर्नुभएको छ । विपक्षी टोलीका खेलाडीले उहाँको बलमा खासै रन बनाउन सकेका छैनन् ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सिपिएल खेलिसक्नुभएको छ । सिपिएल यही भदौ २५ गतेसम्म चल्ने छ । सिपिएल खेलेपछि सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न युनाइटेड अरब इमिरेटस (युएइए) जानुहुनेछ । यस यामको आइपिएल कोरोना महामारीका भारतमा आयोजना नभएर युएईमा हुँदैछ । सन्दीपले आईपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्नुहुनेछ । उहाँ दिल्ली क्यापिटल्समा रु ३२ लाखमा अनुबन्धित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया