लम्की (कैलाली), भदौ १३ : कैलालीको घोडाघोडी नगरपालिका देउकलिया गाउँका विनोद चौधरीले इन्टरनेटको सदुपयोग गर्दै बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गर्नुभएको छ ।
स्नातक तहमा अध्ययनरत चौधरीले कोरोनाको जोखिमसँगै क्याम्पस अनिश्चितकालीन रूपमा बन्द भएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै इन्टरनेटको सहयोग लिँदै बायोफ्लक प्रविधिबाट माछापालन सुरु गर्नुभएको हो ।
२२ वर्षीय चौधरीले घरआँगनमै थोरै क्षेत्रफलमा माछा पाल्न सकिने यो प्रविधिका बारेमा आफूले युट्युबमा हेरेर तथा जानकारहरूसंँग सुझाव लिएर माछापालन सुरु गरेको चौधरीले बताउनुभयो ।
पोखरी निर्माण गर्ने तरिका, भुराको जानकारी र कस्तो दाना कति मात्रामा प्रयोग गर्नेजस्ता जानकारी युट्युुबबाट लिएको उहाँले बताउनुभयो । केही अलमल हुँदा अनुभवीको सल्लाह लिन्छु, चौधरीले सुनाउनुभयो ।
घर नजिकै ढुङ्गा र सिमेन्टको प्रयोग गरेर पोखरी निर्माण गर्नुभएका चौधरीले ३०÷३० हजार घनमिटर पानी जम्मा हुने दुईवटा पोखरी निर्माण गरेर १० हजार माछाका भुरा हाल्नुभएको छ । करिब पाँच लाख लगानीमा बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताउनुभयो ।
उच्च शिक्षासँंगै कृषि पेसामा लागेका चौधरीले भन्नुभयो, “विदेश पलायन हुने युवाले कृषि कार्यमा अर्काको देशमा पसिना बगाउनु परेको हुन्छ । मैले आफ्नै देशमा कृषि व्यवसाय गरेर यतै केही गर्नुपर्छ भन्ने सोच राखेको छु ।”
बायोफ्लक प्रविधिबाट माछापालन गर्दा कम लगानी तथा कम क्षेत्रफलमा पनि मनग्गे आम्दानी गर्न सकिने रहेछ, अरूले यस प्रविधिबाट माछापालन गरेर मुनाफा लिएको अनुभवबाट हौसिनुभएका चौधरीले सुनाउनुभयो । सुरुमा थोरै लगानीबाट व्यवसाय सुरु गर्नुभएका चौधरीले सुरुमै मुनाफा नभए पनि त्यसलाई बढाउँदै लैजाने बताउनुभयो ।
यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुने बताइएको छ । नगरपालिकामै चौधरीले पहिलो आधुनिक प्रविधिको प्रयोग गर्दै माछापालन व्यवसाय सुरु गरेपछि अन्य युवाले समेत सिको गरेर आत्मनिर्भर हुने विश्वास गरिएको छ ।