तरकारीबाट लागतै उठ्दैन

  भदौ ११, २०७७

इलाम, भदौ ११ : बर्खाको मौसम र प्रशस्त तरकारी उत्पादन हुने बेलामा किसानले आफ्नो उत्पादनको मूल्य नपाउँदा आफू मर्कामा परेको गुनासो गरेका छन् । बर्खाका बेला बारीमा उत्पादन भएका काँक्रा, इस्कुस, अकबरेलगायतका उत्पादनको मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका हुन् ।

कोरोनाका कारण बजार सहज नहुँदा यो वर्ष तरकारीको लगानी पनि नउठ्ने अवस्था रहेको किसान बताउँछन् । सधैँ घरबाटै ५०÷६० रुपियाँ प्रतिगोटा बिक्री हुने काँक्रा यो वर्ष दस रुपियाँका दरले पनि बिक्री गर्न गाह्रो छ, माईजोगमाई गाउँपालिका सोयाङका किसान महेन्द्र चापागाईंले भन्नुभयो, “गाउँमा तरकारीको उत्पादन राम्रो छ, बजार पठाउनै समस्या छ ।”

विगत वर्षहरूमा यो सिजनमा ४०० रुपियाँ प्रतिकिलो सम्म खरिद बिक्री भएको अकबरे यो वर्ष गाउँमा १५० रुपियाँदेखि २०० रुपियाँ प्रतिकिलो मात्र छ । तीन वर्षयता अकबरे खेती गर्दै आएका सोयाङकै अर्का किसान श्याम न्यौपाने बजार समस्या भएको बताउनुहुन्छ ।

गत वर्ष १५ क्विन्टल अकबरे बिक्री गर्नुभएका न्यौपानेले यो वर्ष पनि १० क्विन्टल अकबरे उत्पादन हुने अनुमान रहेको बताउनुभयो । यो वर्ष त व्यापारीले जति रुपियाँमा माग्छ, त्यतिमै दिनुपर्छ, आफैँ लगेर बिक्री गर्न सकिएन, न्यौपानेले भन्नुभयो, “एक हजार ५०० बिरुवा लगाएको थिएँ, बोट सुक्ने रोगले अलिअलि बिगा-यो, राम्रो भएर फलेको पनि फ्याँकेसरह दिनुपर्छ, लागत उठाउनै नसकिने भयो ।”

पाँच वर्षयता काँक्रा तथा बर्खे तरकारी खेती गर्दै आउनुभएका इलाम नगरपालिका–५, बरबोटेका किसान हुतराज सापकोटाले पनि यो वर्षको काँक्रालगायतका तरकारी बिक्री गर्न निकै समस्या झेल्नुपरेको बताउनुभयो । सदरमुकाम नजिकै भए पनि काँक्राले राम्रो भाउ पाउन नसकेको उहाँको भनाइ छ । तीन सय झ्याङ काँक्रा लगाएको थिएँ, फल राम्रो लाग्यो, बिक्री गर्ने समयमा लकडाउनले सहज ढङ्गले बजार पु-याउन सकिएन, सापकोटाले भन्नुभयो, यो वर्ष नाफा कमाउन होइन, लगानी उठाउनै समस्या भयो ।

अन्य तरकारीजस्तै इस्कुस पनि इलामका किसानको आम्दानीको मुख्य स्रोत हो तर लामो समयसम्म भएको लकडाउन र बजारको अनिश्चितताले इस्कुसबाट पनि सन्तोषजनक आम्दानी नभएको किसानको भनाइ छ । तराईमा पानी बढी परेर तरकारी उत्पादन नहुँदा तराईका बजारमा जाने यहाँको सबैजसो तरकारी यो वर्ष बोटमै कुहिने अवस्था आएको सूर्योदय नगरपालिका–१२, आठघरेका किसान रमेश गड्तौलाले बताउनुभयो ।

अत्यावश्यक सवारीलाई सरकारले रोक नलगाएको भए पनि गाउँगाउँबाट तरकारी निकासी हुन नसक्दा त्यसको प्रत्यक्ष असर आफूहरूलाई परेको किसान बताउँछन् ।  

तपाईको प्रतिक्रिया