नेपालमै बन्न थाले शय्या, भारतबाट पनि माग

  भदौ १०, २०७७

नेपालगञ्ज, भदौ १० : अस्पतालका लागि आवश्यक पर्ने अत्याधुनिक शय्यालगायत अस्पतालजन्य स्वास्थ्य सामग्रीको उत्पादन यहाँ सुरु भएको छ । उत्पादकले यसलाई पश्चिम नेपालकै पहिलो दाबी गरेका छन् ।

बाँकेको कोहलपुर–९ मा स्थापना भएको युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिले अस्पताल र स्वास्थ्य संस्थाका लागि चाहिने सामान्य शय्यादेखि आईसीयू र प्रसूति शय्यासमेतको निर्माण तथा उत्पादन सुरु गरेको जनाएको छ ।

उद्योग सञ्चालक सतिश केसीले देशमा केही नयाँ काम गर्ने सोच र अहिलेको कोभिड–१९ महामारीको अवस्थालाई ध्यानमा राखेर अस्पतालमा चाहिने फर्निचरलगायत अत्याधुनिक शøया, ह्विलचेयर तथा अन्य उपकरणको निर्माण सुरु गरेको बताउनुभयो । उद्योगले सामान्यदेखि दुवैतर्फ फोल्डिङ भएका शय्याको निर्माण सुरु भएको छ ।

उहाँले उद्योग सञ्चालन गरेको छोटो समयमै देशका विभिन्न जिल्लामा रहेका अस्पताल, आइसोलेसन, क्वारेन्टाइन तथा स्वास्थ्य संस्थाबाट सामान्यदेखि दुवैतर्फ फोल्डिङ भएका शøयाको धेरै माग आउन थालेको बताउनुभयो ।

सञ्चालक केसीका अनुसार बन्दाबन्दीको समयमा गत चार महिनाको अवधिमा एक हजार पाँच सय अत्याधुनिक शय्या निर्माण गरेर बिक्री गरिसकिएको छ । उहाँले माग बढ्दै गएकाले दिनरात निर्माण कार्य जारी रहेको पनि बताउनुभयो ।

सोही उद्योगका अर्का सञ्चालक नरेश बुढाथोकीले भारत र चीनबाट प्रतिशय्या १५ हजार रुपियाँमा खरिद गरिने गरेकामा आफूहरूले उत्पादन सुरु गरेर नौ हजार रुपियाँमै गुणस्तरीय शय्या बिक्री गरिरहेकाले माग बढी रहेको बताउनुभयो ।

त्यसैकारण भारतको गोरखपुरका अस्पतालबाट समेत १२ हजार शय्याको माग आएको र सुरुमा एक हजार दुई सय शय्या दिने सहमति भएको बताउनुभयो । हालसम्म शय्याहरू आयात मात्रै गर्दै आएकामा अब पहिलोपटक निर्यातसमेत गरिने अवस्था रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले भारतमा प्रतिशय्या १५ हजार भारतीय रुपियाँमा बिक्री गरिने सहमति भएको जनाउनुभयो ।
भारतबाट ल्याइएका मुख्य प्राविधिकबाट अहिले शय्यालगायत अन्य उपकरण निर्माण गराइरहेकामा उनीहरूबाट काम सिकाएर स्वदेशमै प्राविधिक तयार गरी उत्पादन बढाउँदै लगिने युनाइटेड एग्रो इन्जिनियरिङ प्रालिले जनाएको छ । अहिले कोहलपुरकै केही युवाले शय्या निर्माणलगायतको काम सिकिरहेका छन् ।

सो उद्योगमा हाल तीन करोड रुपियाँको लगानी रहेको र लगानी थप गरेर पाँच करोड पु¥याई अझै थप काम गर्ने तयारी पनि भइरहेको उद्योगका सञ्चालकले बताएका छन् । सो प्रालिले अस्पतालका उपकरण मात्रै नभई विभिन्न खाले ट्याङ्की पनि निर्माण गर्न थालेको छ । डिस्टिलरी र वाइन फ्याक्ट्रीमा आवश्यक पर्ने ट्याङ्की निर्माण गर्ने कार्य पनि सुरु गरिएको सञ्चालक बुढाथोकीको भनाइ छ ।

यसैगरी सोही उद्योगले दूधजन्य उद्योगका लागि आवश्यक पर्ने चिलिङ भ्याट, दूध बोक्ने ट्याङ्कर, अटो रिक्सा, ब्याट्रीबाट चल्ने मोटरसाइकल र स्कुटर, पानी प्रशोधन गर्ने मेसिनलगायतका उपकरण पनि निर्माण गर्ने योजना रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया