काठमाडौं, भदौ १० : फरवार्ड लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोड्ने निर्णयमा पुग्नुभएको छ । गत् साता च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा बार्सिलोनाले वार्यन म्युनिखबाट ८–२ को हार बेहोरेपछि मेस्सीको आलोचना भएको थियो ।
आर्जेन्टिनाका ३३ वर्षीय महान खेलाडी मेस्सीले मंगलबार बार्सिलोनालाई एक फ्याक्स पठाउँदै आफू सम्झौतामा रहेको दफाको अभ्यास गरी तात्कालै मुक्त हुन चाहेको बताउनुभएको हो । उहाँ फिफाको सर्वोत्कृष्ट खेलाडीको उपाधि छ पटक जित्नुभएको छ । सन् २००४ मा बार्सिलोनासँग आबद्ध भई मेस्सीले क्लब फुटबलको सुरुवात गर्नुभएको थियो । बार्सिलोनाले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
बार्सिलोनाले भने मेस्सीले उद्धृत गरेको दफाको म्याद समाप्त भएको र मेस्सीले क्लबसँग सन् २०२१ सम्मको अनुबन्धनमा रहेको जनाएको छ । मेस्सी सन् २०२१ सम्मका लागि ७० करोड यूरोको सम्झौता गर्नुभएको छ । छिट्टै बोर्ड बैठक बसेर मेस्सीको क्लब छोड्ने पत्रबारे निर्णय लिने जनाइएको छ ।