पाम तेलबिना नै निर्यात उकालो

  भदौ ०९, २०७७

काठमाडौँ, भदौ ९ : गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातबिना नै चालू आर्थिक वर्ष २०७७-७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ । मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम तेल नेपाल ल्याएर यहाँबाट प्रशोधन गरी भारत पठाउँदा निर्यात बढेको देखिएको विगतबीच साउनमा भने फरक परिदृश्य देखिएको हो ।

भन्सार विभागका अनुसार साउनमा कुल नौ अर्ब ६२ करोड रुपियाँको निर्यात भएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको छ, जुन दुई अर्ब २७ करोड रुपियाँको निर्यात भएको देखिन्छ । गत आवको साउनभर आठ अर्ब ८३ करोड रुपियाँको निर्यात भएको थियो । जसमा महŒवपूर्ण हिस्सा पाम तेलको थियो । उक्त अवधिमा नेपालबाट एक अर्ब ७५ करोड रुपियाँको पाम तेल निर्यात भएको थियो ।

सूचीको दोस्रो स्थानमा रहेको भटमास तेल भने केवल ४५ करोड रुपियाँको मात्र निर्यात भएको थियो । विभागका अनुसार चालू आवको साउनमा नेपालबाट पाम तेल निर्यात भएको छैन । निर्यातमा भारतको अस्थिर नीतिका कारण यतिबेला नेपालबाट पाम तेल निर्यात हुन सकेको छैन ।
यस वर्ष साउनमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुनेमा कालो चिया रहेको छ ।

नेपालले ७२ करोड ७८ लाख रुपियाँको कालो चिया भारत निर्यात गरेको छ । त्यसपछि ४७ करोड ६२ लाख रुपियाँको अलैँची निर्यात भएको छ । गलैँचा ३७ करोड ४५ लाख रुपियाँको निर्यात हुँदा २७ करोड २८ लाख रुपियाँको बुनेका कपडा निर्यात भएको छ । निर्यात भएका प्रमुख यी पाँच वस्तुमध्ये गलैँचाबाहेक बाँकी सबै भारतमा मात्र निर्यात भएका वस्तु हुन् ।

आयातमा २० प्रतिशतको गिरावट
कोभिड सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा आयात पनि घटेको देखिन्छ । गत साउनको तुलनामा आयात १९.६० प्रतिशतले घटेर ८५ अर्ब ८० करोड रुपियाँ पुगेको छ । गत साउनमा एक खर्ब छ अर्ब ७२ करोड रुपियाँ वस्तु आयात भएको थियो ।

आयात घट्दा समग्र अन्तर्राष्ट्रिय व्यापारको आकार पनि गत साउनको तुलनामा १७.४२ प्रतिशतले घटेर ९५ अर्ब ४२ करोड रुपियाँ पुगेको छ । यसले व्यापार घाटाको खाडल कम भएको छ । निर्यात बढेको र आयात घटेको स्थितिमा व्यापार घाटा २२.१७ प्रतिशतले घटेर ७६ अर्ब १८ करोड रुपियाँ पुगेको छ ।

आयात र निर्यातको परिदृश्य फेरिँदा अन्तर्राष्ट्रिय व्यापार साझेदारमा भने खासै परिवर्तन आएको छैन । सदाझैँ भारत नेपालको प्रमुख व्यापार साझेदारका रूपमा रहेको छ जहाँबाट नेपालले ५६ अर्ब ३९ करोड रुपियाँको आयात गरेको छ भने छ अर्ब ३१ करोड रुपियाँको निर्यात गरेको छ ।

दोस्रोमा रहेको चीनबाट ११ अर्ब १७ करोड रुपियाँको आयात हुँदा पाँच करोड ६० लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यसपछि कोरिया, अर्जेन्टिना र क्यानडाबाट क्रमशः दुई अर्ब १६ करोड, एक अर्ब ९० करोड र एक अर्ब ६३ करोड रुपियाँको आयात भएको छ । 

तपाईको प्रतिक्रिया