वार्यन म्युनिख च्याम्पियन्स लिगको च्याम्पियन

  भदौ ०८, २०७७

काठमाडौं, भदौ ८ : वार्यन म्युनिख छैठौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । सन् २०१२–१३ पछि वार्यन पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो । अत्यन्तै संघर्षपूर्ण स्पर्धामा वार्यनले पेरिस सैन्ट जर्माइनलाई हराएर च्याम्पियन्स लिगको उपाधि हात पार्न सफल भएको हो । पेरिस सैन्ट जर्माइन भने पछिल्लो ३५ खेलमा पहिलोपटक गोलविहीन बन्न पुग्यो ।

वार्यन च्याम्पियन्स लिग प्रतियोगिता अवधिभरि सबै खेल जित्ने कीर्तिमान समेत बनायो । च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा यो उसको लगातार २१ औं जित हो । क्वार्टरफाइनलमा उसले बार्सिलोनामाथि ८–२ को विशाल अन्तरको जित हात पारेर सेमीफाइनलको यात्रा तय गर्दै लिगको मनपर्ने टोलि बार्सिलोनालाई बाहिर पठायो ।

लिसबनमा अबेर राति सम्पन्न खेलमा वार्यनले पेरिस सैन्ट जर्माइनमाथि १–० को जित हात पारेको हो । वार्यनको जितमा किंग्स्ले कोमनले ५९ औं मिनेटमा जोशुआ किमिचको क्रसलाई हेडरमार्फत् गोल पोष्टको दिशा दिनुभयो । गत् नोभेम्बरमा प्रशिक्षकबाट बर्खास्त निको कोभाकको जिम्मेवारी सम्हाल्नुभएका हैन्सी फ्लिकले जर्मन लिग बुन्डेलिगाको उपाधिमा च्याम्पियन्स लिगको उपाधि थप्नुभएको हो ।

नेयमार र कायल म्बाप्पेले उत्कृष्ट प्रदर्शनबाट चुक्दा पेरिस सैन्ट जर्माइन उपविजेतामा सिमित हुन पुग्यो । पहिलो हाफमा नेयमार, म्बाप्पेले केही उत्कृष्ट अवसरहरु सृजना गर्नुभएपनि वार्यनका कीपर मैनुअल नेउर अवरोधक सिद्ध हुनुभयो । नेउर म्यान अफ द् म्याच घोषित हुनुभयो ।किमिचले दोस्रो हाफमा कायल म्बाप्पेलाई लडाउँदा म्बाप्पेले पेनाल्टीका लागि गर्नुभएको अपील खारेज भएपछि पेरिस सैन्टलाई थप निराश बनायो ।

तपाईको प्रतिक्रिया