कोरोनाको असर घरेलु उद्योगमा, ८४ अर्ब बराबरको लगानी जोखिममा

  भदौ ०८, २०७७

काठमाडाैँ, भदौ ८ : कोभिड–१९ को कारण नेपालको घरेलु तथा साना उद्योग थिलथिलो बनेका छन् । अधिकांश ग्रामीण क्षेत्रमा रहेका घरेलु उद्योगसँगको प्रत्यक्ष सम्बन्ध पर्यटन व्यवसायसँग रहेकाले नेपालका चार लाखभन्दा धेरै घरेलु तथा साना उद्योगीहरू समस्यामा परेका छन् ।

नेपालका घरेलु तथा साना उद्योगमा ८४ अर्बभन्दा धेरै लगानी भइसकेकाले त्यो जोखिममा परेको नेपाल घरेलु उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह बताउनुहुन्छ । सरकारले तत्कालै राहतको प्याकेज घोषणा गर्न सक्ने अवस्था नभएकाले पीसीआर टेष्टको मात्रा बढाएर सङ्क्रमितको सङ्ख्या पत्ता लगाएर छिटोछिटोभन्दा छिटो घरेलु तथा साना उद्योग सञ्चालनको वातावरण मिलाउन आवश्यक रहेको सिंह बताउनुहुन्छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा तीन लाख ७८ हजार घरेलु तथा साना उद्योगहरू सञ्चालनमा छन् । नेपाल घरेलु उद्योग महासङ्घ भने नेपालमा चार लाख १५ हजारभन्दा धेरै घरेलु उद्योग रहेको दाबी गर्छ । नेपालमा अधिकांश घरेलु उद्योगहरूमा घर परिवारकै सदस्यहरू सकृय बनेर उद्योग सञ्चालन गरिरहेका छन् ।

बीस जनासम्म मजदुर राखेर सञ्चालन गरेका घरेलु उद्योगीहरूको ५० प्रतिशत ऋण र ५० प्रतिशत व्यक्तिगत लगानीमा उद्योग सञ्चालन गरिरहेका छन् । साना उद्योगीहरूको भने धेरै रकम ऋण थोरै मात्र लगानी हुने गरेको छ । बीस लाखभन्दा धेरै मानिस प्रत्यक्ष रुपमा घरेलु तथा साना उद्योगसँग निर्भर रहेको सिंहले बताउनुभयो ।

नेपालमा रहेका चार लाखभन्दा धेरै घरेलु तथा साना उद्योगीहरूमध्ये दुई लाख १८ हजारले मात्रै नियमित कर तिरेर आफ्नो उद्योगको नवीकरण गरेको एक लाख ५० हजारभन्दा धेरैले नवीकरणसमेत गर्न नसकेको अध्यक्ष सिंहले बताउनुभयो । सङ्घीय सरकार प्रदेश सरकारबीच फरकफरक नियम लागू भएपछि धेरै साना उद्योगी समस्यामा परेको उहाँले बताउनुभयो । 

अब सरकारी तङ्थ्याकसँगै महासङ्घले समेत उद्योग, मजदुर तथा लगानीको वास्तविक तङ्थ्याक ल्याउने अध्यक्ष सिंहले बताउनुभयो । एकातिर उत्पादन गर्न सक्ने अवस्था नरहेको र कोभिडको कारणले बजारमा समेत जान सक्ने अवस्था नभएका कारण घरेलु तथा साना उद्योगीहरू निक्कै समस्यामा परेको अध्यक्ष सिंह बताउनुहुन्छ ।

‘बजारमा सामान लाने, उद्योग सञ्चालन गर्नेभन्दा पनि अहिलेको जर्जर अवस्थाबाट मुलुकलाई मुक्त बनाउन सरकारले पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दछु’ अध्यक्ष सिंहले भन्नुभयो ।

उहाँले उद्योग सञ्चालनमा नआएपनि मजदुरहरूलाई ५० प्रतिशत तलब दिने निर्णय गरिसकेको बताउनुभयो । तर बैङ्कहरूले पछिल्लो समय सरकारको निर्देशनसमेत अटेर गरेर व्यवसायीहरूले व्यक्तिगत खातामा राखेको पैसा ऋणमा तानेर थप पीडा दिन थालेको बताउनुभयो ।

उहाँले घरेलु तथा साना उद्योगीहरू दलदलमा फसेकाले सरकारले केही घोषणा गरिदेला कि भनेर कुरेर बसेको बताउनुभयो । लकडाउन केही खुकुलाे बनेसँगै र मटेरियल तथा उद्योगका औजार चलाउनेयोग्य बनाउन थालेका उद्योगीहरू निषेधाज्ञा बढेसँगै अन्यौलमा परेको सुनाउँछन् ।

तपाईको प्रतिक्रिया