काठमाडौं, भदौ ६ : जटिल स्वास्थ्य अवस्थाका कोरोनाभाइरस सङ्क्रमितको उपचारमा सहयोगि देखिएको ‘प्लाज्मा थेरापी’ उपचार पद्धतीका लागि ‘डोनर’को अभाव भएको छ । साउन १६ गते नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘प्लाज्मा थेरापी’ पद्धतीबाट दुई बिरामीको उपचार सुरुवात गरिएको थियो । दुबैको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएपछि चिकित्सक तथा अस्पतालले जटिल अवस्थाको सङ्क्रमितमा प्लाज्मा थेरापी उपचार पद्धती अपनाउन प्राथमिकता दिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका डा. सनतकुमार दासले हाल एउटै ‘डोनर’ मौज्दात नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी सिकिस्त भएपछि डोनर खोज्ने हैन, डोनरबाट पहिले नै रगत लिएर प्लाज्मा तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । तर एउटै डोनर तयार छैनन् ।” शुक्रबार अबेर राति मात्रै त्रिवि शिक्षण अस्पतालमै कार्यरत एकजना ५६ वर्षीय सङ्क्रमितमा थेरापी गरिएको छ । उहाँ दमका दीर्घरोगी समेत हुनुहुन्छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हालसम्म चार जना कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापी गरिएको छ । दुईजना निको भएर घर फर्केका छन् । गत् साता थेरापी गरिएको बिराटनगरस्थित नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीको अवस्था सुधार देखिएपनि आइसोलेशनमा स्थान नभएर आईसीयूबाट निकाल्न नपाएको डा. दासले खुलाउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी उपचार पद्धतीका लागि स्वीकृति दिदा ४० जना ‘डोनर’ तयार रहेको जनाएको थियो । डा. दासले तयार रहेको डोनर हाल आफ्नो प्रतिबद्धताबाट पछाडि हटिरहँदा आकस्मिक अवस्थामा समस्या आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “परिषद्मा दाताको रुपमा नाम उल्लेख गराएका डोनरलाई आवश्यक भएको बेला सम्पर्क गर्दा इच्छुक नभएको जवाब पाएँ ।”
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवालीले डोनरको अभावभन्दा पनि सुरुमा ‘डोनेट’ गर्ने प्रतिबद्धता जनाएका दाता प्रतिबद्धताबाट पछि हटेको खुलाउनुभयो । उहाँले प्लाज्मा थेरापी उपचार पद्धतीलाई व्यवस्थित र प्रभाबकारी बनाउन सामानान्तर रुपमा विविध आयाममाथि काम भइरहेको जानकारी दिनुभयो ।
प्लाज्मा थेरापीका लागि डोनर खोज्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चार जना विज्ञ सम्मिलित कर्मचारी नै खटाएको छ । चौबीसै घण्टा ती कर्मचारी अनलाइन र अस्पतालहरुको सम्पर्कमा रहेर डोनर खोज्दै आएका छन् । परिषद्ले पहुँचले पनि दाताको अभाव देखिएको जनाएको छ । काठमाडौंमा प्लाज्मा आवश्यक हुँदा देशको अन्य कुनामा रहेको दाता काठमाडौंसम्म आउन झञ्झटिलो भएकोले पनि तात्काल समस्या देखिएको उहाँले बताउनुभयो ।
हलसम्म ३१ ह्जार ११७ जना सङ्क्रमित भएका छन् । पछिल्ला दिनहरुमा आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने कोरोना सङ्क्रमितको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा बाँच्ने सम्भावना कम भएको जटिल प्रकारका कोरोना सङ्क्रमितको ज्यान जोगाउन आवश्यक पर्ने वैकल्पिक उपचार पद्धती प्लाज्मा थेरापी हो । थेरापी उपचार पद्धतीले प्राथमिकता पाउँदा दाताको अभाव हुन नदिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. प्रदीप ज्ञवाली प्रतिबद्धता जनाउनुहुन्छ ।
१८ हजार ३५० जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्किसकेको छन् । तीमध्ये कम्तिमा पचास प्रतिशत कोरोनामुक्त भएका रक्तदान गर्ने अवस्थामा हुनुपर्छ । तर दातालाई राम्ररी बुझाउन नसक्दा र चेतनाको कमीले पनि डोनर इच्छुक नभएको हुनसक्ने त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. दास बताउनुहुन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा निजी तथा सरकारी अस्पताललाई प्लाज्मा थेरापीबाट उपचारका लागि अनुमति दिएको छ । अधिकांशले उपचार सुरु गरिसकेका छन् । सामानान्तर रुपमा सबै अस्पतालमा उपचार सुरु भइसकेको अवस्थामा डोनरको अभावले बढ्दो आशामाथि निराशा थप्ने डा. दास बताउनुहुन्छ ।
दुई साताको अन्तरालमा १८ जना कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चार, हयाम्स अस्पतालमा पाँच, ग्राण्डी, मेडिसिटी र पाटन अस्पतालमा दुई दुईजनामा आईसीयूमा रहेका बिरामीमा प्लाज्मा थेरापी गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का स्वास्थ्य अधिकृत सरोज भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी, शुक्रराज ट्रपिकल अस्पताल, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक एक जनामा कन्भेलेशन प्लाज्मा थेरापी गरिएको छ । रुपन्देहीको बुटवलस्थित प्रादेशिक अस्पतालमा समेत आईसीयूमा रहेका एक सङ्क्रमितको प्लाज्मा थेरापीको गरिएको छ । नारायणी अस्पताल, बिरगंजमा समेत प्लाज्मा थेरापीको प्रयास गरिएको छ । तर हाल सफल भइसकेको छैन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दाताबाट प्राप्त रगतबाट छुट्टै प्रकृयाबाट प्लाज्मा झिक्ने प्रविधिलाई बिस्थापन गरेको छ । यो नेपालको पहिलो प्रविधि हो । डा. दास भन्नुहुन्छ, “दातको शरीरबाट अब एकैपटक प्लाज्मा नै निकाल्न सक्ने प्रविधि आएको छ ।” उक्त प्रविधिले समयको वचतसँगै रगतको सञ्चय समेत गर्नेछ ।
प्लाज्मा थेरापी गर्दा दाताबाट रगत लिनेदेखि थेरापी गर्दासम्म १५ हजार रुपियाँ खर्च हुन्छ । डा. सनतकुमार दासले एक जनाको रगतबाट तीन जना सङ्क्रमितको थेरापी गर्न सकिने बताउनुहुन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले दातका लागि छुट्टै मापदण्ड बनाएको छ । मापदण्ड बमोजिम आर टी पीसीआर विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको, रक्तदान पूर्ब १४ दिनसम्म सङ्क्रमणको लक्षण नभएको, १८ वर्ष पूरा भएको हुनुपर्छ ।
निमोनियाबाट ग्रसित आईसीयूमा भर्ना भएका कोरोना सङ्क्रमित बिरामीमा प्लाज्मा थेरापीबाट उपचार गरिन्छ । हाल त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ का नौ जना बिरामी आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् ।
डा. दासले रक्तदानभन्दा थोरै पनि फरक प्रकृया नरहेकोले प्लाज्मा थेरापीका लागि दातालाई स्वस्फूर्त तयार हुन आग्रह गर्नुभयो ।
डा. ज्ञवाली भन्नुहुन्छ, “दाता जोडिने र सम्पर्कमा आउने एप्स पनि बनाइदैछ, एप्समा देशैभरिका इच्छुक जोडिने हुँदा केही दिनपछि दाताको समस्या समाधान भएर जानेछ ।”