राजविराज, भदौ ५ : राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित विरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका विरामीको यहाँबाट रेफर गर्न थालेको छ ।
आइसीयू र भेन्टिलेट अभावले शुक्रबार नै केही विरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । राजविराजस्थित आइसोलेसनमा उपचाररत एक विरामी रेफर भएको बताइएको छ । यसअघि पनि सङ्क्रमित विरामीहरुको रेफर गरिएको थियो । रेफर गरिएका मध्ये दुई जना सङ्क्रमित विरामीको मृत्यु भइसकेको छ भने एक जनाको अस्पताल ल्याउँदै एम्बुलेन्समा मृत्यु भएको थियो ।
अर्को एक जनाले यहाँ आवश्यक पर्न सकिने आइसीयू र भेन्टिलेटर सुविधा नदेख्दा सिधै उपचारको लागि पुगेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । जिल्लामा चार जना सङ्क्रमित विरामीको हालसम्म मृत्यु भइसकेको छ ।
लक्षणसहितको कोरोना सङ्क्रमित को विरामी उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेपछि श्वासप्रश्वासमा समस्या आउने बित्तिकै धरान वा बिराटनगर रेफर गरिहाल्ने सो अस्पतालका एक चिकित्सकले भन्नुभयो, आइसीयू र भेन्टिलेटर अभावले जटिल समस्या आउनु भन्दा पहिले नै बाहिर पठाउनु पर्ने बाध्यता भएको छ ।
गत साउन १ गते मृतक सङ्क्रमित ७३ वर्षीय व्यापारीले यहाँको अस्पतालमा सुविधा नदेखिएपछि राजविराजमा भर्ना नभई सिधै विराटनगर हुँदै धरान पुगेको थियो । त्यस्तै साउन २१ गते राति रुपनी गाउँपालिका ५ गढिया धुरगामका ४५ वर्षीय पुरुषको स्वासप्रस्वासमा समस्या भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । आइसीयू र भेन्टिलेटर नुहँदा अवस्था गम्भीर बन्दै जाँदा थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यहाँ अस्पतालको गेट पुग्दै मृत्यु भएको थियो ।
त्यसैगरी साउन २८ गते जिल्लाको डाकनेश्वरी नगरपालिका ८ भिमपुर स्थायी घर भई राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोड बसोबास गर्दै आएका ७२ वर्षीय वृद्धको पनि जटिल अवस्थामा उपचार नपाएर मृत्यु भएको छ । पछिल्लो पटक भदौ २ गते मृत्यु भएका राजविराज वडा नं. ४ का २८ वर्षीय युवकमा पनि श्वासप्रश्वासको समस्या भएर छिन्नमस्ता अस्पतला पुगेका थिए ।
अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रेफर गरेको थियो । त्यहाँ पुगेको केहीक्षणमै सोही दिन दिउँसो मृत्यु भएको थियो । कोरोना सङ्क्रमित चारै जनालाई आइसीयू र भेन्टिलेटरको आवश्यकता देखिएको थियो । तर, उक्त सुविधा नहुँदा ज्यान गुमाउनु परेको स्वास्थ्यकर्मीहरुले स्पष्ट पार्नुभएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले यस्तो अवस्थाका विरामीलाई आइसीयु वा भेन्टिलेटरमा राख्नु पर्ने थियो उहाँले भन्नुभयो, तर अस्पतालमा सो सुविधा छैन । आइसीयू र भेन्टिलेटर सुविधा नहुँदा विरामीलाई रेफर गर्न बाहेक अन्य विकल्प नभएको उहाँको कथन छ ।
सिकिस्त अवस्थामा अस्पताल पुगेका यस्तो विरामीहरुलाई आइसीयू र भेन्टिलेटरको आवश्यक पर्ने अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले भन्नुभयो, भेन्टिलेटरमा राखेर उपचार गर्न सकिएको भए उनीहरु बाँच्न सकिन्थ्यो होला । आइसीयू कक्ष नहुँदा अस्पतालमा चार वटा भेन्टिलेटर मेसिन भए पनि भौतिक पूर्वाधार र जनशक्ति अभावले सञ्चालनमा नआएको मेसु झाले बताउनुभयो ।
यता गत २ गते जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको बैठकले निजी स्तरका छिन्नमस्ता अस्पतालमा कोभिड–१९ विरामी उपचारको लागि आवश्यक खर्च, जनशक्तिको लागत अनुमान तयारी गरी प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयलाई अनुरोध गर्ने जिम्मेवारी गजेन्द्र नारायण सिंह अस्पताललाई दिएको छ ।