निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

  भदौ ०३, २०७७

काठमाडौँ, भदौ ३ : निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको भिडभाड अत्यधिक देखिन्छ । तर सरकारले बुधबार राति १२ बजेदेखि एक हप्ताको लागि मात्र निषेधाज्ञा जारी गरिसकेको छ ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्लाको पछि लागेर धेरै सामान खरिद नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले निषेधाज्ञामा पनि सामान आपूर्ति निरन्तर भइरहने भएकाले कुनै पनि दैनिक उपभोग्य सामानको अभाव नहुने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

बजारमा कालो बजारी गर्ने र सामानको मूल्य बढाउने व्यापारीमाथि अनुगमन भइरहेको र निषेधाज्ञाको समयमा पनि बजार अनुगमन निरन्तर हुने उहाँले बताउनुभयो । तरकारीलगायत केही सामानको मूल्य यसअघि केही बढेको भएता पनि अहिले मूल्य सामान्य अवस्थामा आएको जानकारी दिँदै सामानको मूल्यवृद्धि गर्ने जोकोही भएता पनि कारबाही गर्ने बताउनुभयो ।

नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल हाल आवश्यक पर्ने औषधिको मौज्दात रहेको र बाहिरबाट पनि निर्यात भइरहेकाले औषधिको अभाव हुन्छ की भनरे डराउने अवस्था नरहेको बताउनुहुन्छ । यो समयमा अलि डर मान्ने, दीर्घ रोगी भएता पनि सरकारले औषधि किन्न जानको लागि निषेध नगरेको बताउँदै कसैको गलत हल्लाको पछि नलाग्न दाहालको सुझाव छ ।

नेपालमा औषधि कम्पनीहरू निरन्तर रुपमा सञ्चालनमा रहेकाले निषेधाज्ञाको अवधिमा पनि औषधि उत्पादन भइरहने उहाँले जानकारी दिनुभयो । औषधि उत्पादन गर्दा चाहिने कच्चा पदार्थको अभाव नरहेको र बाहिरबाट आउने कच्चा पदार्थ पनि निरन्तर आपूर्ति भइरहेकाले कुनै समस्या नआउने दाहालको भनाइ रहेको छ ।

यता, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले आफूहरूसँग आठ महिनाभन्दा बढीलाई पुग्ने नुन मौज्दात रहेको बताउनुभयो । यसैगरी, दैनिक जीवनमा प्रयोग हुने तेल, चामल, दाल, ग्यासलगायत कर्पोरेसनले बिक्री गर्दै आएका सामानको कुनै पनि अभाव नहुने विभागीय प्रमुख झा बताउनुहुन्छ ।

यसअघिको लकडाउनमा बढी बिक्री हुँदै आएको इन्डक्सन चुल्हो पनि उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ । साथै, उपभोक्ताको माग आए घुम्ती सेवामार्फत् पनि सेवा दिनको लागि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया