काठमाडौँ, भदौ ३ : नेपालको अर्थतन्त्र चलायमान बनाउन हस्तकला क्षेत्रको महत्त्व बेग्लै रहेको बताइन्छ । नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये अधिकतम् हस्तकलाका सामान पर्दछन् । यस क्षेत्रबाट उत्पादन भएका सामान वार्षिक १२ अर्ब बराबरको निर्यात हुने गरेको नेपाल हस्तकला महासङ्घका पूर्व अध्यक्ष धर्मराज शाक्य बताउनुहुन्छ ।
हस्तकला क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ११ लाखभन्दा बढी नेपाली रोजगारीमा जोडिएको पूर्वअध्यक्ष शाक्य बताउनुहुन्छ । कोरोनाको कारण विदेशमा रोजगारी गुमाएर आएका युवालाई यो क्षेत्रमा जोड्न सके नामसँगै दामको सम्भावना रहेको उहाँको भनाइ छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकोले यस क्षेत्रमा लाग्ने इच्छाशक्ति भएमा एक हजारदेखि माथि करोडौँसम्म लगानी गर्न ठाउँ भएको शाक्य बताउनुहुन्छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई जिल्ला, स्थानीय स्तरमा नै तालिम दिन ट्रेनिङ सेन्टर खोल्न आवश्यक रहेको शाक्य बताउनुहुन्छ । सरकारले युनिभर्सिटी कलेजमै हस्तकलाबारे पढाउने व्यवस्था गर्न सके युवा पुस्तालाई आकर्षित बनाउन सकिने पूर्वअध्यक्ष शाक्य बताउनुहुन्छ ।
अहिलेसम्म नेपालमा ४२ प्रकारका हस्तकलाका सामाग्रीहरू उत्पादन हुँदैआएका छन् । हस्तकलालाई दुई किसिममा विभाजन गरिएको छ । पहिलो परम्परागत ह्याण्डीक्राफ्ट भनेर विभाजन गरएको छ । जसमा चित्रकला, मूर्तिकला, काष्टकला, धातुकला, वस्त्रकला पर्दछन् । अर्को ह्याण्डीक्राफ्ट भनेर पश्मिना, फेल्ट, नेचुरल फाइबरबाट बनेका सामग्रीहरू, पेपर क्राफ्टहरू, सिसाको पाइपहरू भनेर छुट्ट्याइएको हस्तकला महासङ्घका पूर्वअध्यक्ष शाक्य बताउनुहुन्छ ।
परम्परागत तरिकाले मात्रै चलाउँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला व्यवसायीले प्रतिस्पर्धा गर्न नसकेको उहाँको अनुभव छ । अन्तर्राट्रिय बजारमा हाम्रो सामान गुणस्तर छन् भनेर बुझाउन र प्रचार गर्न नसकिएको कारण बजारमा प्रतिस्पर्धा गर्न केही समस्या भएको शाक्यको अनुभव छ ।
यसै गरी नेपाल हस्तकला कालीगढ सङ्घका अध्यक्ष हरि सेन्चुरी (विक) हस्तकला क्षेत्रमा काम गर्नको लागि इच्छाशक्ति भए बेरोजगार भएर बस्न नपर्ने बताउनुहुन्छ । फेल्ट भनेको भेडा, च्याङग्राको उनबाट बनाइने विभिन्न सामानहरू पर्दछन् । जस्तै फेल्टको ब्याग, पर्स, जुत्ता, खेलौना, झुमर, म्याट, विभिन्न आकार सामान बनाउने गरिन्छ । फेल्टका सामानमा विशेष सजाउन र उपहारका सामान बढी माग हुने गरेको व्यवसायी सेन्चुरी बनाउनुहुन्छ ।
विदेशबाट फर्किएका युवालाई आजको भोलि ठूलो सङ्ख्या रोजगारी दिन नसकिए पनि विश्वमा कोरोनाको प्रभाव सामान्य भएसँगै धेरैलाई रोजगारी दिन सकिने अध्यक्ष सिन्चुरी बताउनुहुन्छ । अहिले विश्वमा फैलिएको कोरोनाले नेपालमा उत्पादन भएका हस्तकलाका सामान निर्यात हुन सकेका छैनन् । विगतमा यस क्षेत्रमा काम गर्ने कालीगढ विदेश पलाएन भएर कामदार अभाव हुने गरेको सिन्चुरी बताउनुहुन्छ ।
अब विदेशबाट फर्कने युवालाई बिना धितो ऋण, सहुलियत दरमा ऋण दिन सके युवाका लागि यो राम्रो कमाइ हुने क्षेत्र भएको उहाँ बताउनुहुन्छ । यता व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक रविन्द्र दवाडी नेपालबाट फेल्ट (भुवा जन्य) का सामानहरू वार्षिक दुई अर्ब १५ करोड बराबरको विभिन्न देशमा निर्यात हुने गरेको बताउनुहुन्छ । पस्मिनाका सामान मात्र गत वर्ष एक अर्ब ७६ करोड बराबरको निर्यात भएको दवाडी बताउनुहुन्छ ।