पुनर्कर्जाका लागि प्रस्ताव आह्वान

  भदौ ०२, २०७७

काठमाडौँ, भदौ २ : कोरानो सङ्क्रमणबाट प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामार्फत प्रस्ताव आह्वान गरेको छ । कोराना सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीयता त्यसबाट धेरै र कम प्रभावित उद्योगलाई मध्यम र अति दुई वर्गमा छुट्याएर राष्ट्र बैङ्कले प्रस्ताव माग गरेको हो ।

सोमबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैङ्कले पुनर्कर्जाका लागि ग्राहक ऋणीले जुन बैङ्कबाट ऋण लिएको हो सोही बैङ्कको सोही शाखामा निवेदन दिनुपर्ने जनाएको छ । प्राप्त निवेदनहरू संलग्न गरी बैङ्कहरूले पुनर्कर्जाका लागि पेस गर्नसक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

पुनर्कर्जाका लागि बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि आगामी असोज १४ सम्म आवेदन बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैङ्कले ऋण उपलब्ध गराउन राष्ट्र बैङ्कले यसअघि सहज रूपमा पुनर्कर्जा प्रदानका लागि ‘नेपाल राष्ट्र बैङ्क पुनर्कर्जा कार्यविधि २०७७’ लागू गरिसकेको छ ।

कार्यविधि अनुसार एकमुष्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको हो ।

राष्ट्र बैङ्कले पुनर्कर्जाका लागि प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, पाँच करोड रुपियाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराउने जनाएको छ । प्रदान गरिने पुनर्कर्जाको ब्याज दर ३ देखि ५ प्रतिशतसम्म तोकिएको छ ।

पुनर्कर्जाका लागि आवेदन दिँदा कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्ने छ भने आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँच जना ग्राहक र ऋणी समेटिएको हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ तर त्यसरी प्रदान गरिने कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्ने छ । एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैङ्क र वित्तीय संस्थामार्फत मात्र आवेदन दिनसक्ने छन् ।  

तपाईको प्रतिक्रिया