जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत सङ्कुचन

  भदौ ०१, २०७७

टोकियो, भदौ १ : जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले सङ्कुचित भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ ।

जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७.८ प्रतिशतले गिरावट आएको जनाएको छ । जापानी सञ्चार माध्यमहरूले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् । तर जापानी मन्त्रिपरिषद कार्यालयले तुलनात्मक विवरणहरू सन् १९८० देखि मात्र राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब सङ्कुचन सन् २००९ मा देखिएको थियो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्थामा कोरोनाभाइरसको प्रभाव देखिनुअघि गत वर्षको अन्त्यदेखि नै अनुभव गर्न थालिएको थियो । कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्यासँगै सामाजिक दूरीका नियमहरूले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरूले बताएका छन् ।

यस वर्षको पहिलो त्रैमासिक अवधि जनवरीदेखि मार्च महिनाको अवधिमा अर्थतन्त्र ०.६ प्रतिशतले घटेको थियो । गत वर्ष सन् २०१९ को अन्तिम त्रैमासिक अवधि अक्टोबर–डिसेम्बरको अवधिमा १.८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको थियो । यही कारण यस वर्ष सन् २०२० को पहिलो त्रैमासिक अवधिमा जापानी अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको थियो । सामान्यतया, दुई त्रैमासिक अवधिसम्म लगातार अर्थतन्त्रमा सङ्कुचन आए अर्थव्यवस्था मन्दीमा गएको बुझिन्छ ।

अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो भने वैयक्तिक उपभोग्य दरमा वार्षिक करिब २९ प्रतिशतले कमी आएको थियो । विज्ञहरूका भनाइमा कोरोनाभाइरस नियन्त्रणमा आएसँगै अर्थतन्त्रमा विस्तारै सुधार हुनेछ । जापानको निर्यातमुखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको छ ।

चीनले कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी कदम चाले पनि चिनियाँ उत्पादनको बजार माग खस्किएको अध्ययनहरूले देखाएका छन् । कोरोनाभाइरसको खोप निर्माणले मूर्तरुप लिन सके विश्व अर्थव्यवस्था पुरानै लयमा फर्कनेछ, तर यस्तो खोप तत्कालै बजारमा उपलब्ध हुनेमा अझै आशङ्का छ । जापानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या हालसम्म करिब ५६ हजार छ ।

तपाईको प्रतिक्रिया