पूर्वाधार निर्माणको बाटो खुल्यो

  भदौ ०१, २०७७

नेपालगञ्ज, भदौ १ : बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माणमा देखिएको अवरोध हटेपछि पूर्वाधारको काम सुरु गर्ने बाटो खुलेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सुकुम्बासीबीच वैकल्पिक व्यवस्था नहुँदासम्म सुकुम्बासीलाई हाल बसेकै स्थानमा बसोबास गर्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा पूर्वाधारको काम सुरु गर्ने सहमति भएपछि निर्माणमा देखिएको अवरोध हटेको हो ।

२०७२ सालदेखि सुरु भएको औद्योगिक क्षेत्र निर्माणको काममा देखिएको अवरोध हाल आएर हटेपछि करिब पाँच वर्षपछि निर्माण कार्यले गति लिन लागेको हो । औद्योगिक क्षेत्रका लागि छुट्ट्याइएको ३० बिघा जग्गामा २०५४ सालदेखि बसोबास गर्दै आएका ६१ घरपरिवार सुकुम्बासीले आफ्नो व्यवस्थापन नहुँदासम्म औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन नदिने भन्दै अवरोध गर्दै आएका थिए ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले वैकल्पिक व्यवस्था नहुँदासम्म सुकुम्बासीहरूलाई हाल बसेकै स्थानमा बस्न दिने र खाली स्थानमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका काम सुरु गर्ने लिखित सहमति भएकाले अवरोध हटेको बताउनुभयो ।
उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी, सांसद, सभासद् र गाउँपालिकाका जनप्रतिनिधिहरूको संयुक्त प्रयासले लिमिटेड र सुकुम्बासीबीच सहमति जुटेपछि औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

औद्योगिक क्षेत्र निर्माण हुने स्थल नौबस्तामा निरीक्षणका लागि आउनुभएका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलाई भेटेर सुकुम्बासीले आफ्नो व्यवस्थापन गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्न सक्ने बताएपछि छलफल गरेर नयाँ सहमति भएको हो । सहमतिअनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको संयोजकत्वमा गठन हुने समितिले औद्यौगिक क्षेत्रको जग्गामा बसेका सुकुम्बासीलाई व्यवस्थापन गर्ने
निर्णय गर्नेछ ।

उनीहरूको वैकल्पिक व्यवस्था नहुँदासम्म अहिले बसोबास गरेकै क्षेत्रमा बसोबास गर्न दिने र औद्योगिक क्षेत्रका पूर्वाधार निर्माणका साथै सुकुम्बासीको वैकल्पिक व्यवस्थाको काम पनि सँगसँगै अगाडि बढाउने कार्य गरिने नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले बताउनुभयो । उहाँले पूर्वाधार निर्माणको कामका लागि भदौ पहिलो साता नै टेन्डर आह्वान गरिने तयारी गरिएको बताउनुभयो ।

नौबस्ता औद्योगिक क्षेत्र निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृत भई चालू आर्थिक वर्षका लागि करिब ६० करोड रुपियाँ बजेटसमेत विनियोजन भइसकेको छ ।
टेन्डर आह्वान गरेर औद्योगिक क्षेत्र भित्रको सडक, ढल, विद्युत् र खानेपानी लगायतका भौतिक संरचना निर्माण प्रक्रिया सुरु गर्ने तयारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छ ।

सुरुमा ५२५ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि सुकुम्बासीको व्यवस्थापन गर्दा करिब ३३८ बिघा जमिनमा औद्योगिक क्षेत्र बन्ने छ । सो औद्योगिक क्षेत्रमा २०० भन्दा बढी उद्योग सञ्चालनका लागि उद्योगीहरूले आवेदन दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया