काठमाडौँ, साउन ३२ : भारतीय क्रिकेटर एवम् उत्तरप्रदेश राज्यको सैन्य हित एवम् नागरिक सुरक्षा मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोभिड–१९ बाट सङ्क्रमित ७३ वर्षीय चौहानको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारको क्रममा उहाँको आइतबार साँझ निधन भएको हो । चौहानकी श्रीमती र छोरा अष्ट्रेलियाको मेलबर्न बस्दैआएका छन् । चौहान अस्पताल भर्ना भएपछि दुवै जना आजै भारत आउन तय गरेका थिए । परिवारका सदस्यहरू नआउँदै चौहानको निधन भएकाे छ ।
भारतीय क्रिकेट टोलीमा ओपनर ब्याट्सम्यानको भूमिकामा रहनु भए पनि उहाँले एउटै शतक लगाउनु भएको छैन् । उत्तर प्रदेशमा सांसद निर्वाचित हुनुअघिसम्म उहाँ क्रिकेटको विश्लेषणको भूमिकामा हुनुहुन्थ्यो । उहाँको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गनुभएको छ ।