काठमाडौँ, साउन ३२ : भारतीय क्रिकेट टोलिका पूर्वकप्तान एवम् विकेटकीपर ब्याट्सम्यान महिन्दर सिंह धोनीले शनिबार साँझ सन्यासको घोषणा गर्नुभयो । करिब एक वर्षयता धोनीको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको आकलन भइरहेको थियो ।
यद्यपि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआइ)का अधिकारीहरूले उहाँको सन्यासलाई लिएर कुनै दबाब सिर्जना गरेनन् । प्रशिक्षक रवि शास्त्रीदेखि बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले धोनीको आत्मबल बढाउने गरी वक्तव्य दिइरहन्थे । तर इन्डियन प्रिमियर लिगको आगामी संस्करणको तयारीमा जुटेका चेन्नई सुपर किंग्सका कप्तान धोनीले शुक्रबार अचानक सन्यासको घोषणा गर्नुभयो ।
भारतलाई अन्तर्राष्ट्रिय एकदिवसीय, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफी दिलाउनुका साथै टेष्ट वरियताको शीर्ष स्थानसम्म पुर्याउने धोनी एकल कप्तान हुनुहुन्छ । धोनी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेलगत्तै विश्वका महान क्रिकेटरले उहाँको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
धोनी ‘द ब्याट्सम्यान’
धोनीले ३५० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नुभएको छ । एकदिवसीयमा उहाँको औसत ५०.५७ छ । विराट कोहलीको औसत मात्रै धोनीभन्दा माथि छ । वा धोनी र कोहलीभन्दा विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुलकर, रिक्की पोन्टिङ, ब्रायन लाराजस्ता ब्याट्सम्यानको औसत ५० भन्दा मुनि नै छ । सचिन तेन्कुलकरको औसत ४४.८३ छ ।
अन्तर्राष्ट्रिय एकदिवसीयको लक्ष्य पछ्याउने क्रममा महिन्दर सिंह धोनी ४७ खेलमा अविजित रहँदा भारतीय क्रिकेट टोलीले जित हात पारेको छ । विश्वका अन्य कुनै ब्याट्सम्यान उहाँको यस आँकडाको समीप छैनन् । जोन्टी रोड्स दोस्रो हुनुहुन्छ । तर उहाँ मात्र ३३ अवसरमा अविजित रहँदा दक्षिण अफ्रिकाले जितेको छ ।
धोनी अविजित रहँदा भारतीय क्रिकेट टोलीले हार बेहोरेको दुई अवसर मात्रै छ । पहिलो पटक सन् २०१३ मा कलकत्तामा भारतले पाकिस्तानको सामना गर्दा धोनी अविजित रहेपनि टोलीलाई जिताउन सक्नुभएन । दोस्रो सन् २०१९ को विश्वकप क्रिकेटमा इंग्ल्याण्डको सामना गर्दा ।
महिन्दर सिंह धोनीले लक्ष्य पछ्याउने क्रममा नाै पटक छक्का लगाएर टोलीलाई जित दिलाउनुभएको छ । अन्य कुनै ब्याट्सम्यानको नाममा यस प्रकारको कीर्तिमान छैन ।
अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा धोनीले २२९ वटा छक्का लगाउनुभएको छ । क्रिकेटको उक्त स्वरुपमा रोहित शर्माले मात्रै भारतका लागि धोनीभन्दा बढी छक्का प्रहार गर्नुभएको छ । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा विश्वका खेलाडीमा पाँचौँ सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी हुनुहुन्छ ।
धोनी भारतका लागि ब्याटिङ गर्दा अधिकांश समय पाँचौँ वा त्यसभन्दा मुनि झरेर ब्याटिङ् गर्नुहुन्थ्यो । उहाँले उक्त स्थानमा ब्याटिङ् गर्दा सात शतक लगाउनुभएको छ । युवराज सिंह र जोस बटलर अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उक्त स्थानमा ब्याटिङ गरेर सातभन्दा बढी शतक लगाएका छैनन् ।
धोनी तेस्रो नम्बरमा ब्याटिङ गर्न आउँदा दुई शतक लगाउनुभएको छ । क्रिकेटमा पाइला टेकेका प्रारम्भिक दिनमा दुवै शतक लगाइएको हो । धोनीले तेस्रो नम्बरमा ब्याटिङ गर्दा श्रीलङ्काविरुद्ध अविजित १८३ र पाकिस्तानविरुद्ध १४८ रन बनाउनुभएको छ ।
धोनी ‘द क्याप्टेन’
धोनीको नेतृत्वमा टिम इन्डियाले तीनवटा प्रतियोगिता जितेको छ । यो कुनै पनि भारतीय कप्तानभन्दा बढी हो । धोनीभन्दा बढी आईसीसीको प्रतियोगिता जित्ने कप्तान एकजना रिक्की पोन्टिङ मात्रै हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा धोनीले ३३२ खेलमा टिम इन्डियाको नेतृत्व गर्नुभएको छ । दुई सय अन्तर्राष्ट्रिय एकदिवसीय, ७२ टी ट्वान्टी र ६० टेष्टमा उहाँले अगुवाइ गर्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा विश्वकै दोस्रो सबैभन्दा सफल कप्तान हुनुहुन्छ ।
दुई सय अन्तर्राष्ट्रिय एकदिवसीयमध्ये उहाँ नेतृत्वको भारतीय टोलिले १५१ खेल जितेको छ । अष्ट्रेलियाका रिक्की पोन्टिङगले १७२ एकदिवसीय खेल जित्नुभएको छ । अन्तर्राष्ट्रिय एकदिवसीयमा टोलिको नेतृत्व गर्दा उहाँको औसत रन स्कोर ५३.५५ छ । विराह कोहलीको मात्रै धोनीभन्दा बढी औसत छ ।
अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेटमा धोनीको नेतृत्वमा भारतीय टोलिले दुईपटक मात्रै हार बेहोरेको छ । रिक्की पोन्टिङ र क्लाइभ लोयडको नाममा मात्रै जित र हारको अनुपातमा उहाँभन्दा उच्च कीर्तिमान छ । सन् २०११ को विश्वकप क्रिकेट आफ्नै नेतृत्वमा जित्नुअघि लिग चरणमा भारतले दक्षिण अफ्रिकासँग हार बेहोर्नुपरेको थियो । सन् २०१५ को विश्वकप क्रिकेटमा धोनीले अष्ट्रेलियाविरुद्ध सेमीफाइनलमा हार बेहोर्नुपर्याे ।