कोरोना सङ्क्रमणमा पनि राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी

  साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले मुनाफाको हिसाबले आर्थिक वर्ष २०७६÷७७ मा पनि आफ्नो अग्रतालाई कायमै गरेको छ । गत वर्ष चार अर्ब ४५ करोड रुपियाँ मुनाफा आर्जन गरेको बैङ्कले कोभिड–१९ को सङ्क्रमणले गर्दा मुनाफा ११.७७ प्रतिशतले घटेको भए पनि वाणिज्य बैङ्कहरूमध्ये अग्रणी कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा वाणिज्य बैङ्कको नाफा पाँच अर्ब चार करोड रुपियाँ थियो ।

रावा बैङ्क वित्त विभाग प्रमुख विमल डङ्गोलले भन्नुभयो, समग्र नाफाको हिसाबले बजारमा नम्बर एक त भयौँ तर समग्रमा ५९ करोड ४० लाख रुपियाँ नाफा घटेको छ । जुन ११.७७ प्रतिशतले घटेको हो । बैङ्कले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेसँगै बैङ्कको नाफामा गिरावट आए पनि बैङ्कको अग्रता कायम रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैङ्ककोे वितरणयोग्य नाफा एक अर्ब तीन करोड ५८ लाख ९५ हजार रुपियाँ रहेको छ । यो नाफाबाट बैङ्कले ११.५० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । सञ्चालन नाफा समीक्षा अवधिमा ४३ करोड ७० लाख रुपियाँ घटेर छ अर्ब तीन करोड रुपियाँमा सीमित भएको छ ।

बैङ्कले कर्जाको ब्याज नबढाएको र निक्षेपको मात्रै ब्याज बढाएको भन्दै उहाँले भन्नुभयो, निक्षेप ब्याज खर्च ५५ प्रतिशतले बढेको छ भने ब्याज आम्दानी १४ प्रतिशतले मात्रै बढेको छ । त्यसकारण खुद ब्याज आम्दानीमा कमी आयो । गत आवमा खुद ब्याज आम्दानी नौ अर्ब ३१ करोड ५१ लाख ५१ हजार रुपियाँमा सीमित भएको छ । अघिल्लो आवमा नौ अर्ब ९४ करोड ८१ लाख १५ हजार खुद ब्याज आम्दानी गरेको बैङ्कको ६३ करोड २९ लाख ६४ हजार रुपियाँले खुद ब्याज आम्दानी घटेको हो ।

असार मसान्तसम्ममा बैङ्कले दुई खर्ब ३० अर्ब ८२ करोड ७७ लाख रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब ५० अर्ब ८० करोड ८० लाख रुपियाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैङ्कले निक्षेप सङ्कलन ४१ अर्ब ५७ करोड २३ लाख र कर्जा लगानी आठ अर्ब ७८ करोड ५१ लाख रुपियाँले वृद्धि भएको हो ।

समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी नौ अर्ब ४७ लाख ९५ हजार ७०० रुपियाँ रहेको नौ अर्ब चुक्ता पुँजी भएको वाणिज्य बैङ्कको १३ अर्ब रुपियाँ जगेडामा रहेको छ । बैङ्कको जगेडा कोषको आकार एक अर्ब ९० करोड २३ लाख रुपियाँले बढेर १३ अर्ब आठ करोड रुपियाँ र सेयरधनी कोषमा एक अर्ब ३५ करोड ३४ लाख २४ हजार रुपियाँ सञ्चित रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा ०.७१ प्रतिशतले घटेर ४.०८ प्रतिशतमा सुधार भएको छ । जुन अघिल्लो वर्षमा ४.७९ मा थियो । यस अवधिमा बैङ्कको पुँजीकोष १२.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ६२.४८ प्रतिशत, आधारदर ५.८० प्रतिशत र स्प्रेड दर ४.२६ प्रतिशत र कोषको लागत ३.६९ प्रतिशत रहेको छ ।

बैङ्कको कर्मचारी खर्चमा पनि गत वर्षको तुलनामा १८ करोड रुपियाँले कमी आएको छ भने नेट अपरेटिङ प्रोफिट गत वर्षको तुुलनामा खुद ब्याज आम्दानी घटेको जति नै ६.७६ प्रतिशतले घटेर गत वर्ष छ अर्ब ४७ करोड सञ्चालन नाफा थियो । यसपालि छ अर्ब तीन करोड रुपियाँ मात्रै भयो । अर्को गैरसञ्चालन आम्दानी अप्रसेन गरेको कर्जाबाट १४ करोड ६४ लाख असुली गरेको थियो भने यस वर्ष २९ करोड ७६ लाख असुली गरेको छ ।

तपाईको प्रतिक्रिया