लामो समयसम्म सेयर रोक्का नहुने

  साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा गाभिन तथा प्राप्ति (मर्ज वा एक्विजिसन) प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ । यस्ता कम्पनी मर्ज हुने तथा एक्विजिसन प्रक्रियामा जाँदा लगानीकर्ताले झन्डै एक वर्षसम्म आफ्नो सेयर रोक्का भएर अन्योल हुनुपर्ने अवस्था थियो ।

त्यस्तो समस्या समाधान गर्नेगरी नेपाल धितोपत्र बोर्डले ‘सूचीकृत सङ्गठित संस्था आपसमा मर्ज तथा एक्विजिसनसम्बन्धी निर्देशिका’ ल्याउन लागेको छ । नेपाल स्टक एक्सचेन्जमा सूूचीकृत कम्पनी मर्जर वा प्राप्तिमा जानु परे नेपाल धितोपत्र बोर्डको पूर्वस्वीकृति लिनुपर्ने तथा स्वाप रेसियो पनि बोर्डबाट पारित गराउनुपर्ने प्रस्ताव निर्देशिकामा गरिएको छ ।

धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्न सूचीकृत संस्था मर्ज गर्ने तथा एक्विजिसनका लागि बोर्डले नयाँ निर्देशिका ल्याउन प्रक्रिया अगाडि बढाएको छ । प्रस्तावित निर्देशिकाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितका लागि धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्ने, कारोबारी संस्थाहरू गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विद्यमान प्रावधानलाई सरलीकरण गर्ने बोर्डले जनाएको छ ।

बोर्डले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोबार र विनिमयलाई व्यवस्थित गर्न सूचीकृत संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी कार्यलाई नियमित तथा व्यवस्थित गर्न निर्देशिका ल्याउन लागेको हो । बोर्डले संलग्न बमोजिमको सूचीकृत सङ्गठित संस्था आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७७ को मस्यौदा तयार गरी सबै सरोकारवालाबाट रायसुझावको अनुरोध गरेको छ । सरोकारवालाको रायसुझाव भएमा आगामी भदौ ७ भित्र इमेलमा पठाउन बोर्डले आग्रह गरेको छ ।

निर्देशिकाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितका लागि धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्ने, कारोबारी संस्थाहरू गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विद्यमान प्रावधानलाई सरलीकरण गर्ने बोर्डको अपेक्षा छ । बोर्डले ड्यु डिलिजेन्स अडिट तथा प्रारम्भिक समझदारीसम्बन्धी व्यवस्था, समिति गठन तथा पूर्वस्वीकृति सम्बन्धी व्यवस्था, सेयर आदानप्रदान अनुपात गणनासम्बन्धी व्यवस्था, सेयर कारोबार खुला तथा अन्तिम स्वीकृतसम्बन्धी व्यवस्था र सूचीकृत सङ्गठित संस्था सूचीकरण नभएको संस्थासँग गाभिने वा प्राप्ति हुनेसम्बन्धी व्यवस्था प्रस्ताव गरेको छ ।

बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार मर्जमा गएका वा एक्विजिसनमा गएका संस्थाले झन्डै एक वर्षसम्म कारोबार गर्न पाउँदैनथे भने नयाँ निर्देशिका लागू भएपछि मर्ज वा एक्विजिसन भएको लामो समय कुर्न नपर्ने भएको छ ।

धितोपत्र बजारमा अहिले विद्यमान जटिल अवस्थालाई सहज बनाउने गरी निर्देशिका ल्याउन लागिएको स्पष्ट पार्दै उहाँले प्रस्तावित प्रावधानले कारोबार गर्ने प्रक्रिया सरल बनाउने र बोर्डलाई नियमनमा पनि सहज बनाउने बताउनुभयो । विगतमा धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा मर्ज तथा एक्विजिसन प्रक्रियामा जाँदा बोर्डसँग समन्वय नहुँदा समस्या हुने गरेको भन्दै उहाँले नियमावलीको कार्यान्वयनसँगै बजारमा स्थिरता आउने बताउनुभयो ।

विगतमा बोर्डसँग समन्वय नहुँदा हल्लैहल्लामा बजार तलमाथि जाने, अध्ययन नै नगरी लगानी गर्नेलाई पनि धेरै असर पर्ने गरेको भन्दै उहाँले यस्ता कुरालाई न्यूनीकरण गर्नका लागि निर्देशिकाले महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो । सेयर लगानीकर्ता सङ्घ नेपालका उपाध्यक्ष ताराप्रसाद फुलेलले पनि पुँजी बजार सुधारका लागि लगानीकर्ताले सरकारलाई बुझाएको ५८ बुँदे सुझावमा पनि यो माग गरिएको भन्दै निर्देशिकालाई विस्तृत अध्ययन गरेर आवश्यक परे सुझाव दिइने बताउनुभयो ।  

तपाईको प्रतिक्रिया