कामदारमा कोरोना सङ्क्रमणले सुुन पसल बन्द

  साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक दायाँ बायाँ क्षेत्रका सबै पसल बन्द गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार जयमाता दी गोल्ड प्यालेसमा कार्यरत तीन कामदारमा कोरोना देखिएपछि पसलहरू बन्द हुुनुका साथै उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले साउन ३० देखि भदौ ७ सम्म न्युुरोड जुद्ध सालिकदेखि इन्द्रचोक सम्मका सम्पूर्ण पसल बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै विशाल बजारका सुनचाँदी व्यापारीमा पनि कोरोना देखिएको छ । विशाल बजार सञ्चालक समिति र व्यापारी व्यवसायीसँग सल्लाह गरी विशाल बजारसमेत बन्द गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै महानगरीय प्रहरी वृत्त जनसेवाले पनि हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर, न्युुरोड, खिचापोखरी, सुन्धारा लगायतका क्षेत्रमा सञ्चालित रेस्टुराँ तथा पसलले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन सुरु गरेको छ । न्युुरोड क्षेत्रमा मास्क प्रयोग नगर्ने, सामाजिक दूरी कायम नराख्ने र भीड बनाई रेस्टुराँमा ग्राहक राखेको अभियोगमा बटुवादेखि ग्राहकसम्म र केही व्यवसाय सञ्चालकलाई कारबाही गरिएको वृत्त प्रमुख सुनीलकुमार शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया