नेपालगञ्ज, साउन २८ : नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो ।
नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका प्रमुख नवविनोद पोख्रेलले पश्चिम नेपालकै नमुनाका रूपमा निगमको आफ्नै ११ कठ्ठा जग्गामा आधुनिक पम्प निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले सो अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ जडान हुने र सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न नपाउने बताउनुभयो ।
प्रमुख पोख्रेलका अनुसार सवारी धनीको मोबाइल नम्बरमा सवारी साधनको नम्बरसहितको सन्देश इन्धन भर्नेबित्तिकै सवारी धनीको मोबाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।
अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफीसप र अत्याधुनिक शौचालय निर्माण गरिने छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनामा अत्याधुनिक एसी जडान गरी वातानुकूलित बनाइने पनि डिपो कार्यालय नेपालगञ्जले जनाएको छ ।