कहिले बन्दाबन्दी त कहिले विद्युत् ट्रिपिङ

  साउन २७, २०७७

भैरहवा, साउन २७ : विद्युत् ट्रिपिङ र अनियमित आपूर्तिका कारण रुपन्देहीका उद्योग समस्यामा परेका छन् । लामो समय लकडाउनको मारमा परेका उद्योग सञ्चालनमा आएसँगै विद्युत् ट्रिपिङ र कम भोल्टेजको समस्यामा परेका हुन् ।

सरकारले गरेको लकडाउनका बेला उत्पादन ठप्प पारेर बसेका उद्योग लकडाउन हटेसँगै आंशिक रूपमा सञ्चालनमा आएका छन् । बजारमा सिमेन्टको माग न्यून हुँदा कम परिमाणमा उत्पादन गरिरहेका उद्योग करिब एक महिनायता दिनमा पटकपटक विद्युत् जाने र विद्युत् आए पनि निकै कम भोल्टेजका कारण उद्योग सञ्चालनमा कठिनाइ भएको लुम्बिनी करिडोरमा रहेको वृज सिमेन्टका महाप्रबन्धक रवि रन्जनले बताउनुभयो ।

लकडाउनका कारण नेपाली क्लिङ्कर पर्याप्त उत्पादन र उपलव्ध हुन सकेन, जसका कारण भारतबाट आयात गरिएको क्लिङ्कर प्रयोग गर्दा उत्पादनको लागत मूल्य बढी पर्न गएको छ तर पनि बजारको कडा प्रतिस्पर्धाका कारण नोक्सान बेहोरेर उत्पादन बिक्री गर्न बाध्य छौँ, उहाँले भन्नुभयो । विद्युत्मा देखिएको ट्रिपिङका कारण ऊर्जा बढी खपत हुने र लागत बढ्ने, करोडौँ पर्ने ठूला मेसिन पटकपटक रिभ्यु गर्नुपर्दा बिग्रिने खतरा रहेको महाप्रबन्धक रन्जनको भनाइ छ ।

उद्योग सञ्चालकका अनुसार मेसिन चल्न सुरु गरेदेखि २४ घण्टामा चारदेखि आठपटकसम्म विद्युत् जाने आउने गरेको छ । विद्युत् आयो भनेर मेसिन सुचारु ग¥यो, चल्न नपाउँदै पुनः विद्युत् जान्छ, यसरी कसरी उद्योग चल्न सक्छन् ?, रिलायन्स सिमेन्टका सञ्चालक ऋषि अग्रवालले भन्नुभयो ।

विद्युत् ट्रिपिङको समस्या यहाँका हरेक उद्योगमा देखिएको छ । विद्युत्को ट्रिपिङ र कम भोल्टेजका कारण उद्योग सञ्चालनमा निकै कठिनाइ भोग्नुपरेको अग्नि सिमेन्टका सञ्चालक राजकुमार पोखरेलले बताउनुभयो । एकपछि अर्को समस्यामा पर्दा उद्योग पहिलाको अवस्थामा फर्किन समय लाग्ने सञ्चालक पोखरेलको भनाइ छ ।

त्यस्तै जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गाना, अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्की, नेपाल अम्बुजा सिमेन्ट उद्योगका महाप्रबन्धक राजकुमार गुप्ता, सुप्रिम सिमेन्टका सरोज पौडेललगायतले विद्युत्का कारण उद्योगहरू निकै मारमा परेको बताउनुभयो । जसका कारण उत्पादनमा कमी आउनुका साथै उत्पादन लागतसमेत वृद्धि हुने उहाँहरूको दाबी छ । लुम्बिनी करिडोरमा मात्रै दुई दर्जन उद्योग सञ्चालनमा छन् । जसमा एक दर्जन सिमेन्ट उद्योग मात्रै छन् ।

असारदेखि नै रुपन्देहीमा विद्युत् आपूर्तिमा समस्या आएको छ । दैनिक लाइन जाने, भोल्टेजको उतारचढावले दिनहुँजसो उद्योगका मेसिनलगायतका उपकरण खराब हुने अवस्थामा छन् । विद्युत अनियमितताकै कारण उद्योग सहज रूपमा सञ्चालन हुन नसकेको सिद्धार्थ सिमेन्ट उद्योगका बजार प्रबन्धक सुमन पौडेलले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले विद्युत्को उत्पादन र आपूर्तिमा असन्तुलन हुँदा ट्रिपिङको समस्या देखिएको बताउनुभयो । कालीगण्डकीमा आएको बाढीका कारण १३२ केभीए प्रसारणको प्रणाली फेल भएकाले सोको मर्मत गर्ने क्रममा केही समस्या आए पनि अब बिस्तारै सुधार हुने क्रममा रहेको उहाँको दाबी छ ।

भोल्टेज समस्याको दीर्घकालीन समाधानका लागि रुपन्देहीको मैनहियामा निर्माणाधीन १३२ केभीए सबस्टेसनको काम पूरा हुनैपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार मैनहियामा बन्न लागेको सबस्टेसनका ५४ वटा टावरमध्ये ३४ वटा निर्माण भएका छन् भने २० वटाको काम अझै बाँकी रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया