नेपालले आयोजना गर्ने फिफा विश्वकप दोस्रो चरणको छनोट प्रतियोगिता स्थगित

  साउन २६, २०७७

काठमाडौं, साउन २८ : एशियामा विश्वकप र एशिया कपको छनोट प्रतियोगिताको दोस्रो चरणको खेलहरुको पुर्नतालिका हुने भएको छ ।

नेपालले विश्वकप र एशिया कप फुटबलको छनोट खेलका लागि प्रशिक्षणको तयारी गरिरहँदा एएफसी र फिफाले यस प्रकारको निचोडमा पुगेको हो । अखिल नेपाल फुटबल संघले गत् आइतबार मात्रै प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब सङ्कलन गरेको थियो ।

एशियाली फुटबल संघका अनुसार आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित खेलहरु तात्कालका लागि स्थगित गरिएको छ । दोस्रो चरणको सबै खेल नेपालले आयोजना गर्ने तालिका रहेको छ । दोस्रो चरणको खेलहरु सन् २०२१ मा पुर्नतालिका गरिने एएफसीले जनाएको छ ।

छनोट खेलमा सहभागी हुने अधिकांश एशियाली राष्ट्रहरु कोभिड–१९ को सङ्क्रमणको जटिल अवस्थामा रहेको छ । कतिपय राष्ट्रले अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउनुका साथै यात्रा गर्नैपर्ने भए कठोर उपायहरुको पालना गर्नुपर्ने प्राबधान लागू गरेको छ ।

फिफा विश्वकप फुटबल प्रतियोगिता सन् २०२२ मा कतारमा आयोजना हुनेछ । एशिया कप फुटबल सन् २०२३ मा आयोजना हुनेछ । “प्रतियोगितामा खेल्ने राष्ट्रका सहभागीहरुलाई स्वास्थ्यको पूर्ण सुरक्षालाई ध्यानमा राख्दै फिफा र एएफसीले नजिकबाट नियाल्दै छनोट खेलको तिथि सार्वजनिक गर्नेछ,” एएफसीले पठाएको वक्तब्यमा उल्लेख गरिएको छ ।

नेपालले विश्वकप र एशिया कप छनोट खेलको लागि चाइनिज ताइपेइसँगै असोज २२ गते, अष्ट्रेलिया विरुद्ध असोज २७ मा र जोर्डनसँग कात्तिक २७ गते खेल्ने तय भएको थियो। । तीनवटै खेलको आयोजना नेपालले नै गर्ने तय गरिएको थियो ।

तपाईको प्रतिक्रिया