उत्पादन गरेर मात्र पुग्दैन, चाख्नुपर्छ

  साउन २३, २०७७

इलाम, साउन २३ : इलाम चियाका लागि प्रख्यात भए पनि चियाको स्वादको परीक्षण कमै हुने गर्दछ । चियाको स्वाद परीक्षण नहुँदा विदेशीको रुचिअनुसारको उत्पादन गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजार नै प्रभावित हुने गरेको चियाविज्ञ र पारखी बताउँछन् ।

‘नेपालीहरू चिया उत्पादन मात्रै गर्छन् तर टि टेस्टिङ गराउनुपर्छ भन्ने राम्रो ज्ञान छैन,’ साँखेजुङका चिया उद्योगी चिरञ्जीवी दाहाल भन्नुहुन्छ, ‘विदेशमा टि कल्चर भनिन्छ, यो छुट्टै संस्कृति जस्तो भइसकेको छ ।’

उहाँका अनुसार टेस्टिङका लागि कति ग्राम चिया राख्ने, कुन चियालाई कति समय तातो पानीमा राख्ने, त्यसको स्वाद, बास्ना र भिजेको पत्ता विचार गर्ने र राम्रो नराम्रो त्यसैबाट छुट्याउने, विदेशीहरू यसैमा बढी केन्द्रित हुन्छन् । टि कल्चर नेपालीले जान्नुपर्ने भएको छ ।

‘तयारी चियाका पनि विभिन्न जात र नाम छन् । त्यही हरियो पत्तीबाट ब्ल्याक टि, ग्रिन टि, सिल्भर टि, गोल्डन टि, ओलङ टि लगायत दर्जनौँ किसिममा चिया बनाउन सकिन्छ,’ जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बा भन्नुहुन्छ ।

सुब्बाका अनुसार विदेशमा जाने चियामा पनि देशअनुसार माग फरक पर्ने गर्छ । कुनै देशमा ब्ल्याक, कुनैमा ग्रिन, कुनैमा गोल्डन, कुनै देशमा सिल्भर टि मात्रको पनि माग आउने गरेको छ ।’

हरियो पत्ती टिपाइमा फरक पर्छ, त्यसलाई सुकाउँदाको तापक्रम र बनाउँदाको प्रविधिमा फरक पर्छ तर त्यही हरियो पत्तीबाट विभिन्न थरी चिया बनाउन सकिन्छ र तिनको बेग्लाबेग्लै स्वाद हुने बताइन्छ ।

‘टेस्टिङको अर्थ चिया चखाइ नै हो, कुन चियाको स्वादको कस्तो छ, त्यसैबाट राम्रो चियाको छनोट गर्न सकिन्छ,’ केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले भन्नुभयो । ‘विदेशी क्रेताले चियाको माग गर्न टि टेस्टिङलाई नै प्राथमिकता दिन्छन् । इलाममा टि टेस्टिङको संस्कृति हुर्किइसकेको छ । ’ चिया चखाइले उद्योगीहरू बीच आन्तरिक रूपमा प्रतिस्पर्धा गर्न सक्षम हुने, गुणस्तरीय चिया बनाउन प्रेरित गर्ने राईको भनाइ छ ।

यसैबीच चियाको अन्तर्राष्ट्रिय बजार खस्किएको अवस्थामा चिया उद्योगीलाई सान्त्वना दिँदै कन्याममा चियाको स्वाद चाख्ने ‘टेस्टिङ’ गरिएको छ । ‘इलाम च्यालेन्ज २०२०’ नाम दिइएको टेस्टिङमा जिल्लामा उत्पादित ८४ किसिमका चियाको स्वाद चाखिएको थियो ।

टेस्टिङमा साँखेजुङस्थित हिमालयन साङ्ग्रिलाको ‘ब्ल्याक टि’ उत्कृष्ट बन्दै नगद ३० हजार पुरस्कार पाउन सफल बन्यो । यस्तै सूर्योदय नगरपालिका–८, मालुमको रक्तकाली टि स्टेटको ग्रिन टि दोस्रो बन्यो र च्याङ्बा टि स्टेट देमाई नगरपालिका मङ्गलबारेको ब्ल्याक टि तेस्रो बन्यो । दोस्रो र तेस्रो हुने चियाले नगद २० र नगद दस हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

चिया विस्तार आयोजना सूर्योदय नगरपालिका फिक्कल र टि स्टेसन इन करर्पोरेसनको संयुक्त आयोजनामा भएको ‘इलाम च्यालेन्ज २०२०’ ले चिया उद्योगी र पारखीहरूलाई चियामा काम गरिरहन हौसला थपेको सहभागीले बताए । काठमाडौँस्थित चियासँग सम्बन्धित संस्था हिमकोपका जोन टेलरले चियाको टेस्टिङ गर्नुभएको थियो ।

टेस्टिङ कार्यक्रममै आइपुग्नु भएका राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालको चिया क्षेत्रमा आफूले नयाँ परिवर्तन चाहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया