वीरगञ्ज, साउन १५ : वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुभएका सरावगीको त्यहीँ स्वाब सङ्कलन गरेर परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजिटिभ आएको वीरगञ्ज महानगरपालिका उपप्रमुख शान्ति कार्कीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँले आफूले मेयरसँग फोनमा कुरा गरेको र उहाँ अहिले काठमाडौँमा उपचार जारी रहेकाे बताउनुभएकाे जानकारी दिनुभयो । साथै उपमेयर कार्कीले पनि आफू पनि कोठाबाट ननिस्किएको बताउनुभयो । मेयर सरावगीले फेसबुकमा ‘तपाईंहरूको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयम् कोरोनाको सङ्क्रमणको चपेटामा परेको छु । काठमाडौँकाे एक अस्पतालमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरवासीको सेवामा फर्किनेछु ।’ भनी लेख्नुभएकाे छ ।
सहयोग रकम सङ्कलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका सङ्क्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएको, भारतबाट आएकाहरूको क्वारेन्टिन, सङ्क्रमितहरूको आइसोलेसनको रेखदेखमा खटिँदैआएको तर अहिले सङ्क्रमणको चपेटामा परेर उपचारत रहेको अवस्था सामान्य रहेको र कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरवासीको सेवामा फर्किने प्रतिबद्धता उक्त फेसबुक पोष्टमा गरिएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आधिकारिक रुपमा मेयर सरावगीलाई कोरोना सङ्क्रमण भएको खबर आफूकहाँ नआएको बताउनुभयो । ‘मैले पनि तपाईंजस्तै अरुले भनेर सुनेको छु, फेसबुकबाट सङ्क्रमित भएको घोषणा गर्नुभएको छ अरे । यस्तो विषयमा नभई सङ्क्रमित भए भन्ने कुरा हुँदैन सङ्क्रमण भएको होला तर आधिकारिक जानकारी मात्र नआएको हो ।’ उहाँले गोरखापत्रसँग भन्नुभयो ।
नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंहले मेयर सरावगीले नारायणी अस्पतालको ल्याबमा परीक्षण नगराएकाले काठमाडौँमा गराउनुभएकाले आफूहरूलाई थाहा नभएको बताउनुभयो ।