मिर्गौलालाई स्वस्थ्य राख्ने काइदा

  साउन १४, २०७७

काठमाडौं, साउन १० : मिर्गौला रोग लागेपछि उपचार खोज्नु एक झन्झटिलो प्रक्रिया हो ।  उपचार खर्चिलो पनि हुनसक्छ । त्यसैले संभव भएसम्म यो रोग लाग्न नदिनु नै उचित हुन्छ ।

चिकित्सकहरु अनुसार पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दो छ । मिर्गौलाको समस्या बढ्नुमा हाम्रो खराब दिनचर्या र खानपान समेत जिम्मेवार छ । चिकित्सकहरुको सुझाव छ, ‘खराब खानपान, आनीबानी सुधारेर पनि मिर्गौला रोगको संभावित जोखिमबाट बच्न सकिन्छ ।’

सन्तुलित दिनचर्या

निस्क्रिय एवं ऐश–आरमको जिन्दगीले रोगको जोखिम बढाउँछ । व्यायाम वा शारीरिक श्रम नगर्दा समेत रोगको जोखिम बढ्छ । त्यसैले समूचित श्रम एवं नियमित योग–व्यायाम गरेर स्वस्थ जीवन विताउन सकिन्छ ।

यसैगरी अनियमित रुपमा सुत्ने, उठ्ने, खाने बानीले पनि रोगी बनाउन सक्छ । त्यसैले सुत्ने, उठ्ने, खाने तालिका निश्चित र नियमित हुन जरुरी छ । अनिद्रा जस्ता कारणले समेत मिर्गौला रोगको जाखिम बढाउँछ । दैनिक ७–८ घण्टाको पर्याप्त निद्रा लिनुपर्छ ।

हामीमध्ये धेरैको बानी हुन्छ एकै स्थानमा घण्टौ बस्ने । दिसा–पिसाब रोक्ने । यस्तो बानीले पनि मिर्गौलाको समस्या निम्त्याउँछ । खासगरी लामो समय पिसाब रोक्ने बानी त्याग्नुपर्छ ।

चिकित्सकहरुका अनुसार मोटोपना हुने व्यक्तिमा समेत मिर्गौला सम्बन्धि रोग लाग्ने जोखिम धेरै हुने गर्छ । यस्तो जोखिम सामान्य मानिसहरुको तुलनामा मोटापना भएका मानिसमा दोब्बरले हुने गर्छ । त्यसैले, मिर्गौला सम्बन्धि रोग लाग्नबाट बच्नका लागि पनि मोटोपनाहुनबाट बच्न जरुरी छ ।

यसैगरी मधुमेह, उच्च रक्तचाप तथा मुटु रोग भएमा चिकित्सकसँग परामर्श गरी नियन्त्रणका उपाय अपनाउनुपर्छ ।

सन्तुलित खानपान

गलत खानपान, अत्याधिक मात्रामा जंकफुडको सेवन तथा शरीरमा पानीको कमीका कारण पनि कम उमेरमै मिर्गौला सम्बन्धि समस्याले सताउने गरेको छ । मिर्गौलालाई स्वस्थ राख्नका लागि भिटामिन, मिनरल्स तथा प्रोटिन लगायतका पोषणतत्वयुक्त आहार  सेवन गर्न जरुरी छ  । पोषणयुक्त तथा सन्तुलित आहारको सेवनले मिर्गौलालाई सही पोषण पुग्छ र यसकोे कार्यक्षमता बढ्छ ।

आवश्यक सर्तकता

मिर्गौलाका रोगीहरु मात्र नभएर सामान्य मानिसहरुले पनि औषधिको  सेवन गर्नुपूर्व जहिले पनि चिकित्सकको सल्लाह लिएरमात्र औषधिको सेवन गर्नुपर्छ । जस्तो सुकै दुखाईमा पनि आफू खुशी औषधीको सेवन गर्नु हुँदैन । यसले मिर्गौलालाई नराम्ररी विर्गान सक्छ ।

धुमपान तथा मद्यपानका कारण पनि मिर्गौलालाई असर पर्न सक्छ । धुमपान तथा मद्यपानले शरीरमा विषाक्तको प्रवाह गर्छ । जसका कारण मिर्गौैलाले काम गर्ने क्षमतामा कमी आउने गर्छ ।

तपाईको प्रतिक्रिया