लक्ष्यको १६ प्रतिशत मात्रै गहुँ खरिद

  साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत आर्थिक वर्षमा गहुँ खरिदका लागि लिएको लक्ष्यको १६.६६ प्रतिशत मात्रै खरिद गरेको छ । कम्पनीले यस वर्ष ३० हजार मेट्रिक टन गहुँ खरिद गर्ने लक्ष्य लिएकामा करिब पाँच हजार मेट्रिक टन मात्रै खरिद गरेको हो ।
गहुँ खरिदका लागि छनोट गरिएका क्षेत्र कोरोनाबाट बढी प्रभावित भएकाले यसपटक गहुँ खरिद प्रभावित लक्ष्यभन्दा असाध्यै कम भएको जनाइएको छ । वैशाखको पहिलो साता सरकारले गहुँको समर्थन मूल्य तोकेसँगै ३० हजार मेट्रिक टन गहुँ खरिदको प्रक्रिया सुरु गरेको कम्पनीले असार मसान्तसम्म जम्मा पाँच हजार मेट्रिक टन मात्रै खरिद गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो ।

उहाँले गहुँ खरिदका लागि छनोट गरिएका क्षेत्र कोरोनाबाट बढी जोखिम भई खरिद प्रक्रिया नै रोक्नुपर्ने अवस्था आएपछि यसपटक गहुँ खरिद कार्यक्रम नै प्रभावित भएको बताउनुभयो । सरकारले गत आर्थिक वर्षमा खरिदका लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपियाँ तोकेको थियो । सुवेदीका अनुसार सरकारले तोकेको समर्थन मूल्यका आधारमा कम्पनीले धनगढीको टीकापुर, बर्दियाको राजापुर, रुपन्द्रहीको भैरहवा र बाँकेको नेपालगञ्जबाट गहुँ खरिद सुरु गरेको थियो ।

टीकापुर र राजापुरबाट मात्रै पाँच हजार मेट्रिक टन गहुँ खरिद गरिएको तर भैरहवा र नेपालगञ्जमा कोरोना सङ्क्रमणको बढी त्रास भएकाले खरिद गर्न समस्या भएको कम्पनीले जनाएको छ । सो कम्पनीले गत आर्थिक वर्षमा गहुँ खरिदका लागि नौ करोड पाँच लाख रुपियाँ रकम छुट्याएकामा एक करोड पाँच लाख ७५ हजार रुपियाँ बराबरको मात्रै खरिद गरेको छ । कम्पनीले यसअघि दुई लाख मेट्रिक टनभन्दा बढी धान खरिद गरिसकेको जनाएको छ ।

खाद्यान्न वितरण सुरु
यसैबीच उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले सरोकारवाला निकायलाई बाढी प्रभावित क्षेत्रमा अति आवश्यकीय खाद्यान्न वितरणका लागि तयार आग्रह गरेसँगै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गर्न सुरु गरेको छ । कम्पनीले धनगढीस्थित कार्यालयबाट बझाङका बाढीपीडितलाई चामल वितरण सुरु गरेको जनाएको छ ।

आपूर्ति मन्त्रालयले गृह मन्त्रालय, खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका सरोकारवाला निकायबीच भएको छलफलमा दाल, चामल, नुन, तेललगायतका खाद्यवस्तु गृह मन्त्रालयको सहयोगमा बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार खाद्य कम्पनीले बाढीपीडितलाई खाद्यान्न वितरण गरेको हो ।

सूचना अधिकारी सुवेदीका अनुसार धनगढीस्थित खाद्य कार्यालयबाट बझाङ जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितलाई आठ क्विन्टल चामल वितरण गरिएको छ । उहाँले अन्य ठाउँमा पनि माग भइआएको खण्डमा खाद्य कम्पनीका कार्यालयमा भएको खाद्यान्न उपलब्ध गराउन कम्पनी र कम्पनीका कर्मचारी तयार रहेको जानकारी दिनुभयो ।

यता साल्ट टे«डिङ कर्पोरेसनले भने आपूर्ति मन्त्रालयको बैठकमा साल्ट ट्रेडिङले बाढी प्रभावित क्षेत्रमा गृह मन्त्रालयबाट माग भएको खण्डमा नुन उपलब्ध गराउनुपर्ने र त्यसका लागि कर्मचारी तयारी अवस्थामा राख्नुपर्ने निर्देशन दिइएको थियो तर अहिलेसम्म यस विषयमा औपचारिक जानकारी नआएको जनाइएको छ ।

बैठकले खाद्य व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल आयल निगमलाई मौज्दात बढाउने, वैकल्पिक उपाय प्रयोग गरी खाद्यवस्तुको आपूर्ति सुचारु गर्न कर्मचारी तयारी अवस्थामा राखी आवश्यक परेको खण्डमा परिचालन गर्न सकिनेसमेत निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया