नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  साउन १३, २०७७

काठमाडौँ, साउन १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।

यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् ।

पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताउनुभयो । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उहाँले गर्नुभयो ।

कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् ।

यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बस्नुभएको थियो । त्यतिबेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिनुभएको थियो ।

स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमानपछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया