वीरगञ्ज, साउन ११ : पछिल्लो समयमा वीरगञ्ज महानगरपालिकाभित्र कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि महानगरपालिकाल नारायणी अस्पताल र स्थानीय प्रशासनको सहकार्यमा मास टेस्टिङका लागि आइतबारदेखि स्वाब सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।
वीरगञ्जको घण्टाघरछेउमा रहेको रेल्वे माध्यमिक विद्यालय परिसरमा एक घर एक परीक्षणको नाराका साथ महानगरपालिकाले नारायणी अस्पताल र स्थानीय प्रशासनको सहकार्यमा मास टेस्टिङका लागि आइतबार स्वाब सङ्कलन गर्ने कार्य सुरु गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले महानगरका एक परिवार एक पीसीआर परीक्षण गर्ने, परीक्षण गर्दा पोजिटिभ आएको सबै परिवारको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्ने नीतिअनुरुप स्वाब सङ्कलन सुरु गरिएको बताउनुभयो ।
पैँतीस जना स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर स्वाब सङ्कलन गर्ने जनशक्ति तयार पारेको र त्यही जनशक्तिले एक दिनमा तीनदेखि चार ठाउँको स्वाब सङ्कलन गर्ने नगरप्रमुख सरावगीले बताउनुभयो । महानगरका ५० हजार जनाको पीसीआर परीक्षण गर्ने लक्ष्य लिइएको र आवश्यक परेका त्यो सङ्ख्या बढेर पनि जाने उहाँले बताउनुभयो ।
एक टोलीले महानगरको वडा नम्बर ९ स्थित रेल्वे माविमा ११३ जनाको स्वाब सङ्कलन गरेको र अर्को टोलीले मिनाबजारमा स्वाब सङ्कलन गरेको महानगरका नगरप्रमुख सरावगीले गोरखापत्रलाई बताउनुभयो ।