पोखरा, साउन ११ : गौरी नेपालीको आफ्नो खेत छैन तर उहाँलाई हिजोआज बोल्ने पनि फुर्सद पनि छैन । गौरीले विगत चार वर्षदेखि अर्कैैको खेतबारीमा काम गर्दै आउनुभएको छ । दुई महिनाअघि धान रोप्ने हतारो थियो, अहिले गोड्ने माचामाच छ ।
गौरी आफ्नो धान गोड्ने पर्म लगाउन आफ्नै दाइको खेतमा धान गोड्दै गर्दा एकैछिन बिसाएर गोरखपात्रसँंग कुराकानी गर्दै भन्नुभयो, “मेरो आफ्नै खेत छैन तर अरूको कमाउँदै आएकी छु । ” १६ हल अधियाँ रोप्दै आएकी छु, गौरीले भन्नुभयो, “५० मुरी धान फल्छ, आधा साहूलाई आधा हामी लिन्छौँ, गुजारा चलेको छ ।”
अधियाँ रोपेर पनि फाइदै भएको उहाँले सुनाउनुभयो । घरमा खान १० मुरीजति राख्छौँ, अरू बेच्छौँ, उहाँले भन्नुभयो, “खानलाई दुःख छैन । धान बेचेर केही आम्दानी हुन्छ ।” उहाँले गत वर्ष मुरीको चार हजार रुपियाँका दरले बेच्नुभयो । उहाँलाई धान रोप्न पहिलाजस्तो दुःख छैन । पहिला हल गोरुले जोत्दा दुःख थियो तर अहिले ट्याक्टरले जोत्ने रोप्ने सबै काम हुन्छ, उहाँले भन्नुभयो, अहिले सहज भएको छ । १६ हल एकै दिन सकिन्छ ।
यस्तै चन्द्रबहादुर नेपालीले पनि अरूकै खेतमा धान रोप्दै आउनुभएको छ । दुई वर्षदेखि चन्द्रबहादुरले १४ रोपनीमा अधियाँ कमाउँदै आउनुभएको छ । फेवा फाँटसहित पामेलगायतका खेतमा धान रोप्दै आउनुभएको छ । उहाँले मल हाल्ने बेला भएको भए पनि नपाएको बताउनुभयो । गोडमेल गरेर मल हाल्नुपर्ने हो तर अहिले नपाएको उहाँको गुनासो छ ।
उहाँले पनि १४ रोपनीमा जेठोबूढो धान रोप्नुभएको छ । यो फाँटले मागेको धान यही हो, उहाँले भन्नुभयो, “धेरै फल्ने धान पनि यही भएकाले यही रोप्छौँ र यो अरूभन्दा महँगो पनि छ । यसको माग बढी छ त्यसैले खान मीठो र आम्दानी पनि हुन्छ ।” फेवा फाँटका अधिकांश खेतमा जेठोबूढो धान रोप्ने गरिएको छ । जेठोबूढो धान यहाँको रैथाने मानिन्छ । चन्द्रबहादुर नेपालीले भन्नुभयो, “यहाँका लागि यही धान नै उपयुक्त छ । धेरै पनि फल्छ ।”
अन्य क्षेत्रमा धान रोपाइँ असार महिनाभर भए पनि यहाँका किसानले जेठमै रोपेका कारण अहिले गोडमेलको काम चलिरहेको छ । लकडाउनका बेला पोखराका मुख्य बजारका बासिन्दा घरभित्र बसेको अवस्थामा पनि फेवा फाँटका किसानलाई भने धान रोप्ने चटारो थियो तर सरकारले झन्डै चार महिनापछि लकडाउन खोले पनि यहाँका किसानलाई धान गोडमेल गर्ने कामकै चटारो छ ।
फेवा फाँट पोखरेली जेठोबूढो धान उत्पादनका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा पनि पुग्ने गर्दछ ।
तालको मुहान हर्पन, अँधेरीलगायत खोलाबाट आउने बाढीले रोपेको पुर्ने र सिमसार क्षेत्रमा फैलिएका कुर्मा चराले धानको रोपेको गुवो नै खाइदिँदा उत्पादन कम भएको स्थानीय किसान गुनासो हुन्थ्यो तर यस वर्ष भने पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा फेवा तालमा मिसिने मुख्य खोला र सहायक खोलामा गरी पाँचवटा सिल्टेसन पोखरी निर्माण भएकाले केही राहत मिलेको किसानकोे भनाइ छ । सिल्टेसन पोखरी बनाउन प्रदेश सरकार र महानगरले २८ करोड रुपियाँ खर्च गरेका छन् ।
जेठोबूढोको माग बढ्दो
मगमग वास्ना आउने, लामो सिता भएको र खाँदा नरम मीठो रैथाने पोखरेली जेठोबूढो चामलको माग बढदो छ । फेवा तालको सिरान पामे सबैभन्दा बढी जेठोबूढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबूढो धान फल्छ । पोखरा महानगरपालिकाभित्र कुल धान रोपनी क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबूढो धान रोपाइँ हुने गरेको छ ।
जेठोबूढो धानको माग बढ्नु र मूल्य पनि अरू धानको भन्दा धेरै छ । अन्य धानभन्दा यसको मूल्य राम्रो पाउन थालेपछि पछिल्लो समय किसान जेठोबूढो धान लगाउन आकर्षित भएको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
जेठोबूढो धान पोखरा महानगरपालिकाभित्र चार हजार ४८० हेक्टर क्षेत्रफलमा लगाइने र यस प्रजातिको धान १५ हजार ६८० टन उत्पादन हुने उहाँले बताउनुभयो । कुल धान उत्पादन हुने क्षेत्रफलको कुल क्षेत्रफलको ४० प्रतिशत जमिनमा जेठोबूढो धान उत्पादन हुने गरेको हो ।
अन्य स्थानीय जातको धान दुई हजार २४० हेक्टर क्षेत्रफलमा रोपिने र पाँच हजार छ सय टन उत्पादन हुने उहाँले बताउनुभयो ।
उन्नत जातका धान चार हजार ४८० हेक्टर क्षेत्रफलमा रोपिने र १७ हजार ९२० टन धान उत्पादन हुने गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले बताउनुभयो । महानगरमा धान उत्पादन हुने कुल क्षेत्रफलमा उन्नत जातको धान ४० प्रतिशत क्षेत्रफलमा लगाइने र जेठोबूढोबाहेक अन्य रैथाने प्रजातिका धान २० प्रतिशत क्षेत्रफलमा रोपिने गरेको छ ।
जेठोबूढोको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३ दशमलव ५ मेट्रिक टन रहेको छ । पछिल्ला वर्षमा जेठोबूढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, लेखनाथका फाँट प्लटिङका कारण घडेरीमा परिणत भएका छन् । तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक वर्ष एक सय हेक्टर कृषिभूमि घटिरहेको छ ।
जिल्लामा हाल ४८ हजार ६३३ हेक्टरमा धान खेती गरिँदै आएकामा २६ हजार ७५७ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विजयपुर खोला, सेती नहर र वेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमिन ६८ हजार ९६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबूढो धानतर्फ आकर्षित बनेको अगुवा कृषक भोलानाथ अधिकारी बताउनुहुन्छ ।