राजविराज, साउन १० : सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थपिएका उनीहरुसँगै सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ ।
जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ६ का ३३, वार्ड नम्बर ५ का ४० वर्षका दुई, शम्भुनाथ नगरपालिका वार्ड नम्बर २ का २८, वार्ड नम्बर ८ का ४१, वार्ड नम्बर १२ का ४५ वर्षका तीन, र अग्निसाइर कृष्ण सवरन गाउँपालिका वार्ड नम्बर १ का २८ र वार्ड नम्बर ८ का २३ वर्षका दुई जनामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका शर्मिला चौधरीले जानकारी दिनुभयो ।
नयाँ सङ्क्रमतिहरुलाई राजविराज स्थित सञ्चालित आइसोलेशन अस्पताल केन्द्रमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । पछिल्लो दुई दिन यता १५ जना नयाँ सङ्क्रमित थपिएको थियो । हिजो शुक्रबार आठ र अस्ति बिहीबार सात जनामा संक्रमण भटिएको उहाँले बताउनुभयो ।
हालसम्म आइसोलेन केन्द्रमा भर्ना भएका कुल ४०२ जनामध्ये ३१२ जना निको भएर डिस्चार्ज भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले जानकारी दिनुभयो । अहिले ९० जनाको उपचार भइरहको उहाँले बताउनुभयो । आइसोलेसनमा उपचारत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले भन्नुभयो, कसै कसैमा सामान्य रुघाखोकी, टाउको दुख्ने समस्या आएको थियो । औषधि सेवन गरेपछि निको हुदै गएको छ ।
यता राजविराज नगरमा १०, बलानबिहुल गाउँपालिकामा दुई र डाक्नेश्वरी नगरपालिकामा एक जना संक्रमित होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताउनुभयो । उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।