काठमाडौँ, साउन ९ : बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैङ्कको ढुकुटीमा तानेको हो ।
मुलुकमा कोरोना सङ्क्रमणसँगै गरिएको लकडाउनले बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएको छ । बैङ्किङ प्रणालीमा अहिले एक खर्ब ९१ अर्ब रुपियाँ हाराहारीमा तरलता रहेको राष्ट्र बैङ्कले जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपियाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैङ्क पुगेको हो ।
राष्ट्र बैङ्कले बिहीबार जारी गरेको सूचनाअनुसार जारी गरिएको सात दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । रिभर्स रिपो लिन चाहने बैङ्क तथा वित्तीय संस्थालाई बिहीबार दिउँसो २ः०० बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिएको थियो ।
बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएपछि राष्ट्र बैङ्कले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷७७ को ११ महिनामा रिपोमार्फत रु. ११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत १०३ अर्ब २८ करोड गरी कुल रु. २१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु. १४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत १४६ अर्ब २८ करोड गरी कुल रु. २८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को ११ महिनामा खुला बजार कारोबारमार्फत कुल रु. ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क)बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी रु. ४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९२ करोड खुद खरिद गरी रु. ३३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी रु. ४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु. ४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।