ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशलाई आग्रह

  साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत मास्फीबिन्ते साम्सले गर्नुभएको बिदाइ भेटमा उहाँले ऊर्जा क्षेत्रमा बङ्गलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गर्नुभएको हो ।

उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो । नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारको कोशेढुङ्गाको संज्ञा दिनुभयो ।

नेपाल र बङ्गलादेशबीच २०७५ भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बङ्गलादेशले नेपालबाट आगामी सन् २०४० भित्र नौ हजार मेगावाट बिजुली खरिद गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसअघि मन्त्रीपुन र बङ्गलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

भेटमा राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा मन्त्री पुनको नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो । “नेपाल र बङ्गलादेशकाबीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ”, उहाँले भन्नुभयो, “तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन ।”

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बङ्गलादेश दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै आर्थिक–सामाजिक चूनौतीको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने राजदूत साम्सको भनाइ थियो ।

यस्तै राजदूत साम्सीले मन्त्रीपुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बङ्गलादेश भ्रमणको निम्तासमेत दिनुभयो । मन्त्री पुनले बङ्गलादेशका राष्ट्रपति अब्दुलहमिद र समकक्षी (ऊर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो । राजदूत साम्सी आफ्नो साम्स चारवर्षे कार्यकाल पूरा गरी केही दिनपछि बङ्गलादेश फर्कंदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया