हेटौँडा, साउन ८ : लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५.३६ मिटर पुगेको जनाइएको छ ।
कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, दोस्रो र तेस्रो आयोजना पूर्ण रूपमा सञ्चालन हुँदा प्रतिघण्टा दुई सेन्टिमिटर पानीको सतह बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट विद्युत् उत्पादन नहुँदा जलाशयमा प्रतिघण्टा आठ सेन्टिमिटर पानीको सतह बढ्छ । यो वर्ष आइतबारबाट अधिक पानी पर्दा जलाशयमा प्रतिघण्टा २० सेन्टिमिटरसम्म पानीको सतह बढेको थियो ।
गत वर्ष यही समयमा जलाशयमा पानीको सतह समुद्री सतहबाट एक हजार ५२६.२५ मिटर पुगेको थियो । जलाशय क्षेत्रमा गत वर्ष यो वर्षभन्दा बढी वर्षा भएकाले पानीको सतह बढी रहेको बताउँदै आयोजना प्रमुख यादवले यो वर्ष पनि जलाशयमा पानी जम्मा हुने क्रम राम्रो रहेको बताउनुभयो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित आयोजनाको जलाशय इन्द्रसरोवर तालको समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमताको छ ।
सात मिटर लम्बाइको जलाशयमा आइतबार अनुपातमा मङ्गलबार जलाशयको सतह साढे तीन मिटर पानी बढेको थियो । मङ्गलबार साँझ ८ः०० बजेसम्म पानीको सतह एक हजार ५१४ मिटर ५३ सेन्टिमिटर पुगेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट उत्पादन क्षमता छ ।