चार महिनादेखि राजस्व सङ्कलन ठप्प

  साउन ०६, २०७७

दार्चुला, साउन ६ : छोटी भन्सार कार्यालय खलङ्गा दार्चुलाले गत चैत १० देखि राजस्व सङ्कलन गर्न सकेको छैन । भारतीय सीमावर्ती क्षेत्र पुलघाटमा रहेको दार्चुलाको एक मात्र छोटी भन्सार कार्यालय खलङ्गाले बन्दाबन्दी र सीमा बन्दका कारण चार महिनादेखि राजस्व सङ्कलन गर्न नसकेको हो ।

कोरोनाको जोखिम नियन्त्रणका लागि सीमा नाका बन्द भएपछि भारतसँग कारोबार नहुँदा राजस्व सङ्कलनमा गिरावट आएको छोटी भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष २०७६÷७७ को आठ महिना अर्थात् चैत १० गतेसम्मको अवधिमा १८ लाख २१ हजार ६८८ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार कार्यालयले साउन महिनामा एक लाख ९२ हजार ४३६, भदौमा एक लाख ४२ हजार ९९९, असोजमा एक लाख ३१ हजार ५११, कात्तिकमा ५६ हजार ४०३, मङ्सिरमा एक लाख ७७ हजार २२३, पुसमा दुई लाख ४८ हजार ४१, माघमा चार लाख १६ हजार ७४१, फागुनमा चार लाख २८ हजार १८४ तथा चैतको १० गतेसम्म २८ हजार १९३ रुपियाँ राजस्व सङ्कलन भएको जनाएको छ । गत आर्थिक वर्षको आठ महिनामा सात लाख ५३ हजार दुई सय २० रुपियाँ राजस्व बराबरको खरी निकासी भएको छोटी भन्सार कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकामा उत्पादन भएको खरी खलङ्गा भन्सार हुँदै भारतमा निकासी हुने गरेको छ ।

महाकाली भन्सार कार्यालय झुलाघाटअन्तर्गतको छोटी भन्सार कार्यालय खलङ्गालाई चालू आर्थिक वर्ष २०७७÷७८ मा भन्सार कार्यालयका रूपमा स्तरोन्नति गरिन लागेको छ । द्वन्द्वकालदेखि बन्द रहेका जौलजीवी, दत्तु र सीतापुल भन्सार कार्यालयसमेत पुनःस्थापना नहुँदा राज्यले लाखौँ राजस्व गुमाउने गरेकाले सञ्चालन हुनुपर्ने स्थानीयको माग छ । दार्चुलामा आधा दर्जन सीमा नाकामा भन्सार स्थापना गर्नुपर्ने आवश्यकता छ ।

तपाईको प्रतिक्रिया