वीरगञ्ज, साउन ५ : पर्सा र बारा जिल्लामा थप ५० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाे छ । आइतबार नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणबाट पर्सामा चार र बारामा ४६ गरी ५० वटा नयाँ कोभिड–१९ पोजिटिभ केश भेटिएको सार्वजनिक गरिएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले पर्सामा चार र बारामा ४६ गरी कुल ५० जना सङ्क्रमित भेटिएको जानकारी दिनुभयो । पर्सामा भेटिएका नयाँ कोभिड–१९ पोजेटिभ व्यक्तिहरू भारतबाट आएर होटल कुमु प्यालेसमा पेड होटल क्वारेन्टाइनमा बसेका थिए ।
त्यसैगरी, बारा जिल्लामा भेटिएका नयाँ कोभिड–१९ पोजिटिभ व्यक्तिहरू भारतबाट र नेपालको अन्य जिल्लाबाट आएर देवताल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४६ जनामा कोरोना पुष्टि भएको सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभयो ।
बाराको देवतालमा भेटिएका ४६ जनामध्ये १० जना महिला र ३६ जना पुरुष रहेका छन् । कोरोना पुष्टि भएका सबैलाई पर्सा र बारामा तोकिएको आइसोलेसन वार्ड राखेर उपचार सुरु गरिएका बताइएको छ ।