काठमाडौँ, साउन १ : इंग्ल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चर टोलीबाट हटाइएका छन् । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पूर्वसन्ध्यामा जैविक सुरक्षाको उल्लङ्घन गरेको आरोपमा आर्चर टोलीबाट हटाइएका हुन् ।
बुधबार दोस्रो टेष्टका लागि घोषणा गरिएको १३ सदस्यीय टोलीमा जोफ्रा आर्चरको नाम समावेश गरिएको छ । तर इंग्ल्याण्ड क्रिकेट बोर्डले बिहीबार बिहान एक वक्तव्य जारी गरी जोफ्रा आर्चरलाई टोलीबाट हटाइएको र उहाँ केही दिनको लागि ‘सेल्फ आइसोलेसन’मा बस्नुहुने जनाएको छ । जोफ्रा आर्चर पाँच दिनसम्म आइसोलेसनमा बस्नुहुनेछ । आइसोलेसन बसाइको क्रममा उहाँमा दुईपटक कोभिड–१९ को परीक्षण गरिनेछ ।
वेष्ट इन्डिजविरुद्धको श्रृङ्खलाको क्रममा प्रत्येक खेलाडीलाई जीपीएस उपकरण जडान गरिएको छ । इसीबीको एकजना प्रवक्ताले वेष्टइन्डिज क्रिकेटलाई उक्त जानकारी गराइएको बताएका छन् । र अपनाइएको सतर्कताका उपायहरूप्रति वेष्ट इन्डिज क्रिकेट सन्तुष्ट रहेको जनाएका छन् ।