खहरेमा भेलसँगै जोखिम मोल्दै यात्रु

  असार २९, २०७७

तुलसीपुर, असार २९ : असार २६ गते अजय घर्ती पत्रे खोलाकै बीचमा पुलको पिलरमा अड्किनुभयो । तुलसीपुर १७ को मज्गैबाट दुधरासस्थित घर फर्कँदै गरेका २८ वर्षीय अजयबीच भागमै आइपुग्दा खोलो बढ्यो ।

प्रहरी र स्थानीयले पुलको पिलरमा चढ्न आग्रह गरेपछि अजय पिलरमा चढेपछि मात्रै ज्यान जोगाउनुभयो ।  पिलरमा अड्किएको तीन घण्टापछि मात्रै सोनापुर सिमेन्ट उद्योग प्रालिले क्रेन पठाएपछि स्थानीय, प्रहरीको सक्रियतामा उद्धार गरिएको बिजौरी उद्योग वाणिज्य संघका पूर्व महासचिव वीरेन्द्र खड्काले जानकारी दिनुभयो ।

अजय एउटा उदाहरण पात्र मात्रै हुनहुन्छ । वर्षायाम सुरुवात भएसँगै दाङका खहरे खोलामा आउने भेलका कारण घोराही तुलसीपुर हिँड्ने यात्रुहरुले वर्षौंदेखि भोग्दै आएको कहर अझैँ यथावत् नै छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरास पत्रे खोला रहेको पुल बन्न थालेको ६ वर्ष पुग्यो तर दुई वटा पिलरबाहेक केही संरचनामा थप भएको छैन । दिनहु घोराहीबाट तुलसीपुर आउने प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ सर्जन डाक्टर जर्नादन पन्थी भन्नुहुन्छ ‘मैले मात्रै भोग्दै आएको समस्या होइन । विरामी, सर्वसाधारणहरुलाई थप समस्या पारेको छ ।’

लमही–घोराही तुलसीपुर सडकखण्डमा अर्जुन, मसोट, बबई, सिस्ने, कटुवा, सेवार, गुर्जे, पत्रे, हापुर, सक्राम, चौवा, ग्वार र रानीघाट खोला पर्छन् । यी सबै खोलाहरुमा हरेक वर्ष यस्तै जोखिम हुने गर्दछ । अर्जुन खोलाको पुल दाङको सबैभन्दा पुरानो पुल हो । यो वि.सं. २०२८ सालबाट निर्माण सुरु भई २०३६ मा सम्पन्न भएको थियो ।

मसोट, बबई, गुर्जे, सक्राम, चौवा, ग्वार र रानीघाट खोलामा पुल बनेका छन् भने सिस्ने र पत्रेमा निमार्णाधीन रहेका छन् । हापुर, सेवार खोलामा भने पुल नै बनेका छैनन् । पत्रे खोलाको पुल डिजाइनमा समस्या भएका कारण निर्माणमा ढिलाई भएको र यसै वर्ष पुनः डिजाइन गरी काम अघि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर खुमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया