सौराहा, असार २९ : हरेक वर्षजसो डुबान र कटानको चपेटामा पर्ने पर्यटकीय क्षेत्र सौराहाले यस वर्षबाट कटानको समस्या झेल्नु नपर्ने भएको छ । राप्ती खोलामा गरिएको तटबन्धले सौराहाको कटानको समस्या समाधान गरेको नारायणी नदी तटबन्ध कार्यक्रमका इन्जिनियर प्रकाश लम्सालले बताउनुभयो । नारायणी नदी तटबन्ध कार्यक्रम चितवनले विगत लामो समयदेखि राप्ती खोला र नारायणी नदी नियन्त्रणको काम गरिरहेको छ ।
“सौराहालाई लक्षित गरेर भइरहेको तटबन्धको कामले यो क्षेत्रमा कटानको समस्या रोक्ने छ”, उहाँले भन्नुभयो, “सौराहामा डुबानको समस्या राप्तीभन्दा पनि ढुङ्ग्रेखोलाको समस्या भएकाले यसमा नियन्त्रणको काम गर्नुपर्ने देखिन्छ । ” यद्यपि अघिल्ला वर्षहरूमा जस्तो डुबानको समस्या नहुने उहाँको भनाइ छ ।
विगत तीन वर्षयता सौराहाको तटबन्धका लागि कार्यक्रमले करिब चार करोड रुपियाँ खर्च गरेर झण्डै एक किलोमिटर लामो ड्याम र स्परहरू बनाएको छ । सौराहा तटबन्ध उपभोक्ता समितका अध्यक्ष गणेश खतिवडाका अनुसार चालूू आर्थिक वर्षमा ७३ लाख रुपियाँ खर्च गरेर ४३५ मिटर तटबन्ध र ३० मिटरको स्परहरू बनाइएको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे अहिले नै बाढीबाट सौराहा सुरक्षित छ भन्न नसकिने बताउनुहुन्छ । “जबसम्म ढुङ्ग्रेखोला नियन्त्रण गर्न सकिँदैन, तबसम्म सौराहालाई डुबानबाट बचाउन सकिँदैन”, उहाँले भन्नुभयो । सङ्घकै पूर्वअध्यक्ष गिरीधारी चौधरी ढुङ्ग्रेखोलाको मुहान नै राप्तीले ठेलिँदाको ठूलो पानी भएकाले राप्ती नै नियन्त्रण भएपछि सौराहामा ढुङ्ग्रेखोलाको समस्या नरहने तर्क गर्नुहुन्छ ।
२०११ सालदेखि डुबानको समस्या झेल्दै आएको सौराहामा डुबान र कटानका कारण सबैभन्दा बढी क्षति २०५९ मा भएको थियो । सौराहाले हरेक वर्षजसो नै सानाठूला डुबान र कटानको समस्या झेल्दै आएको स्थानीय बासिन्दा बताउँछन् । हरेक वर्ष चुरे र महाभारत पहाडबाट बगेर आएर थुप्रने ढुङ्गा, गिट्टी र बालुवालाई त्यहाँबाट निकासा गर्न सकिने हो भने नदीले गर्ने डुबानको समस्या समाधानमा थप सहज हुने नारायणी नदी तटबन्ध कार्यक्रमका इन्जिनियर लम्सालले बताउनुभयो ।