काठमाडौँ, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयका कर्मचारीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले नवलपरासी जिल्ला साविक सनई गाविसको हदबन्दी रोक्का रहेको ३२ बिघाभन्दा बढी जग्गाको नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको अभियोगमा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सह–सचिव) टीकाराम ज्ञवालीसहित १३ जनाउपर मुद्दा दायर गरेको छ ।
आयोगले १३ जनाविरुद्ध जनही पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । अभियोग लागेका कर्मचारीहरूमा तत्कालीन प्रमुख मालपोत अधिकृत ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नायब सुब्बा बुद्दिसागर तिवारी, नायब सुब्बा रमेशमान श्रेष्ठ, कम्प्युटर अपरेटर सुवास खड्का, खरिदारहरू नेत्रबहादुर चौधरी, खगेन्द्र पराजुली र अमृतकुमार काम्मु मगर छन् ।
यसैगरी, तत्कालीन गाविस सचिवहरू नन्दलाल दास, बुद्दिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार र गेरमी गाउँपालिका वडा नं. ५ बस्ने रविकुमार खत्री रहेको जानकारी अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिनुभयो ।
अर्को मुद्दामा तत्कालीन जिल्ला वन कार्यालय बाराका सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलउपर तीन लाख रुपियाँ बिगो कायम गरी आर्थिक अनियमितताको आरोपमा मुद्दा दायर गरिएको छ ।
यस्तै, तेह्रथुम जिल्ला थोक्लुङ्ग गाविसका अवकाश प्राप्त सचिव डम्बर कुमार गड्तौलाउपर एक लाख १८ हजार र मालपोत कार्यालय कपिलवस्तुमा कार्यरत तत्कालीन कार्यालय प्रमुख मालपोत अधिकृत रेशमबहादुर थापा क्षेत्रीसहित नासु मोदनाथ पौडेल, खरिदार बद्रीनाथ रेग्मी, बालकृष्ण अर्यालसहित पाँचविरुद्ध २८ हजार तीन रुपियाँ बिगोसहित मुद्दा परेको छ ।
आयोगका अनुसार, तत्कालीन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठसहित तीन जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ ।
यसैगरी, सिक्टहन मावि रुपन्देहीमा तत्कालीन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सन्तप्रसाद कुर्मी र जय नेपाल आधारभूत विद्यालय प्रावि धरमपानी, तनहुँका शिक्षक पुष्पा गुरुङउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेकोमा आरोप–पत्र दायर भएको छ ।