अझै तीन दिन देशव्यापी वर्षा जारी रहने, सतर्कता अपनाउन आग्रह

  असार २८, २०७७

काठमाडौँ, असार २८ : नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै तीन/चार दिन देशव्यापी वर्षाको शृङ्खला जारी रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम जारी छ ।

आउँदो २२ घन्टा देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानमा साथै गण्डकी प्रदेश, प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने आकलन गरिएको छ ।

ती प्रदेशमा रहेका साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

आउँदा तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले पनि वर्षा भइरहेकाले देशको पूर्वदेखि पश्चिम सम्मका विभिन्न क्षेत्रका ठूला नदीको बहाव सतर्कता तह आसपास रहेको जानकारी दिएको छ । 

सतर्कता अपनाउन गृहको आग्रह
गृह मन्त्रालयले मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानका कारण जनधनको क्षति हुने क्रम जारी रहेकाले थप सतर्क हुन आग्रह गरेको छ ।

बाढीपहिरो र डुबानका कारण सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, पश्चिम रुकुम, कास्की, बाग्लुङ, लमजुङ, गुल्मी, चितवन, धनकुटा, बझाङ, कञ्चनपुर, पर्वत र पाल्पा लगायतका १८ जिल्लामा बढी क्षति भएको मन्त्रालयले जनाएको छ । ती जिल्लाका २२ स्थानमा पहिरो जाँदा नागरिकले ज्यान गुमाएका छन् । बेपत्ता र घाइतेको सङ्ख्या पनि त्यत्तिकै रहेको छ ।

सङ्घीय सरकार, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट उद्धार, उपचार र राहत वितरण कार्य भइरहेको छ । गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले भारी वर्षा हुने क्रम जारी रहेकाले बाढीपहिरो र डुबान लगायत सम्भावित विपद्प्रति आवश्यक सर्तक हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले उद्धारका लागि केन्द्रबाट हेलिकोप्टर सहितको उद्धार टोली परिचालन गरे पनि राहत वितरणको कार्यक्रम भने स्थानीय तहबाट भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरो र डुबानमा परी ४४ भन्दा बढीको ज्यान गएको छ । ४२ जना बेपत्ता छन् भने ५० जनाभन्दा बढी घाइते छन् ।

बेपत्ता नागरिकको खोजी कार्य जारी छ । घाइतेको निःशुल्क उपचार भइरहेको छ । उहाँका अनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट र कास्कीमा तत्कालका लागि स्थानीय तह, रेडक्रसले नै त्रिपाल, खाना र लत्ताकपडाको व्यवस्था गरेका छन् ।

तपाईको प्रतिक्रिया