सिरहा, असार २३ : मनसुन सक्रिय भइरहेकै अवस्थामा कमला नदीमा बाढी बढेपछि स्थानीयबासी चिन्तित देखिएका छन् । शुक्रबारसम्म भएको वर्षाले कमलाको बाढीले तटबन्धीय क्षेत्र छोएको छ । मनसुन सक्रिय भइरहेकै बेला वर्षा थामिने कुनै सम्भावना नभएकोले कमलामा आउने बाढीले पुर्वीय तटबन्धका कमजोर स्थानहरु भत्काउन सक्ने स्थानीयबासिन्दाको चिन्ता छ ।
अघिल्लो वर्ष यस्तै वर्षाको बेला बाढी बढेपछि कमलाले पुर्वी तटबन्धको केही स्थानहरु भत्काई सिरहाको केही गाउँहरु भत्काएको थियो । कमला नदी उत्तरबाट भारततर्फ बग्दै गर्दा सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाको केही तटबन्धहरुमा यसको वहाव पुर्व हान्निदै दक्षिणतर्फ मोडिने गरेको छ । जसले गर्दा ती क्षेत्रहरुको तटबन्ध वर्षेनी भत्कने जोखिममा छ ।
‘अघिल्लो वर्ष कमला नदीमा बाढी आउनुभन्दा पहिले नै कमलाको पुर्वी तटबन्धको केही कमजोर भाग मरम्मत गर्न भनेर स्थानीयबासिन्दाले प्रमुख जिल्ला अधिकारी, जलश्रोत तथा सिंचाई विकास डिभिजन सिरहा तथा कमला नदी नियन्त्रण कार्यालय जनकपुरलाई समेत ध्यानाकर्षण गराएका थिए’, स्थानीयबासी विजयकुमार जोशीले भन्नुभयो–तर समयमा कुनै पनि निकायले मरम्मततर्फ ध्यान नपु¥याउँदा मनुसुनको बेला स्थानीयबासीले कहालीलाग्दो दुख भोग्नुपरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवका अनुसार, गत वर्ष कमला नदीले सिरहामा पर्ने पुर्वी बाँधको चतरी, बेल्हा र बसबिट्टाको सात स्थान भत्काउँदा सिरहाको तीन नगरपालिकाको कमला छेउको गाउँहरुलाई तहसनहस पारेको थियो । गत वर्षको वर्षाको समयमा कमला नदीले मात्रै पश्चिमी सिरहाका एक हजार ८७३ परिवारलाई पूर्ण रुपले तथा चार हजार २०७ परिवारलाई आंशिक रुपले गरी छ हजार ८० परिवारलाई विस्थापित गरेको थियो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले पोहोर साल भत्काएका तटबन्धका भागहरुलाई जिर्णोद्धार गरिसकेको उल्लेख गर्दै अहिले पनि केही कमजोर तटबन्धीय भागहरुमा मरम्मत र जिर्णोद्धार गरिरहेको जानकारी दिनुभयो ।
कमला नदीले पु¥याउन सक्ने क्षतिको सम्भावनातर्फ गृह मन्त्रालयकै ध्यान केन्द्रित भएकोले त्यस्ता सम्भावित क्षेत्रहरुमा नेपाली सेना र सशस्त्र प्रहरी बलका उद्धार टोली तम्तयार भएर बसेका छन्’, सहायक प्रजिअ भण्डारीले भन्नुभयो–हाम्रो पहिलो प्रयास भनेको कमला नदीको पुर्वी तटबन्ध भत्किनै नदिने हो, यदि त्यस्तो अवस्था आइहालेमा पनि त्यस क्षेत्रका सर्वसाधारणलाई सुरक्षित वासस्थानमा बसोबासको व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ ।
कमलाले सर्तकता तह पार ग¥यो
जल तथा मौसम पुर्वानुमान महाशाखाले कमला नदीले दिउँसो ४ः०० बजेदेखि जलसतहको सतर्कता तह पार गरेकोले तल्लो तटबन्धीय क्षेत्रका सर्वसाधारणलाई सचेतना अपनाउन सार्वजनिक सूचना समेत जारी गरेको छ ।
सिरहा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले उक्त सूचना जारी भएको जानकारी दिंदै उक्त तटबन्धीय क्षेत्रमा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । कमला नदीले सतर्कता तह पार गरेको अवस्थामा आएको बाढीले कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकामा व्यापक क्षति गर्न सक्ने अनुमान गरिएको छ ।