काठमाडौँ, असार २६ : प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई एवम् शुभकामना दिनुभएको छ ।
प्रहरी महानिरीक्षकलाई बधाई तथा शुभकामना दिन प्रधान सेनापति प्रहरी प्रधान कार्यालय पुगेको यो विरलै घटना हो । मर्यादाक्रम अनुसार प्रधानसेनापति सरकारको मुख्यसचिव र महानिरीक्षक सचिव सरह हुने व्यवस्था छ ।
यसअघि नवनियुक्त प्रधानसेनापतिलाई बधाई दिन प्रहरी महानिरीक्षकहरू सैनिक मुख्यालय भद्रकाली जाने प्रचलन छ । तर, यस पटक प्रधान सेनापति थापा पुरानो परम्परालाई तोड्दै आफैं प्रहरी मुख्यालय पुग्नुभएको हो ।
त्यस अवसरमा प्रधान सेनापति थापाले महानिरीक्षक क्षेत्रीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाहीका अनुसार प्रधान सेनापति थापा र महानिरीक्षक थापा क्षेत्रीबीचको भेटमा राज्यका महत्वपूर्ण सुरक्षा संगठनको रुपमा रहेको सेना र प्रहरीबीच आपसी हित, सहकार्य र समन्वयकारी सम्बन्धमा विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा प्रधान सेनापति थापाले प्रहरी महानिरीक्षक क्षेत्रीलाई ‘अनुभव र ज्ञानको संगालो रहेका केही पुस्तकहरू र वीर नेपालीको पहिचान बोकेको हतियार खुकुरीसमेत उपहार स्वरुप प्रदान गर्नुभएको हो ।
त्यस्तै, प्रहरी महानिरीक्षक क्षेत्रीले पनि प्रधान सेनापति थापालाई मायाको चिनो प्रदान गर्नुभयो ।